Connect with us
Kapilvast Forest

राष्ट्रपतिको चासोले विद्यालय परिवार उत्साहित

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

महोत्तरी-मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिबिधिबारे जानकारी लिनुभएको थियो ।

“राष्ट्रपतिले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे चासो देखाउनुभयो”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, “राष्ट्रपतिले विद्यालयको सुधारका लागि के गर्न सकिन्छ ? भन्ने चासो देखाउनुभएको छ, राष्ट्रप्रमुखको यो चासोले हामी उत्साहित भएका छौँ ।”

विसं. १७७५ मा जयकृष्ण दास नामका एक सन्तले स्थापना गर्नुभएको गुरुकूल कालान्तरमा संस्कृत पाठशाला भनिँदै अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाममा सञ्चालित छ । शैक्षिक जागरण र सुधारका अग्रदूत बालगुरु षडानन्द (भोजपुर, दिङ्ला) ले शिक्षा आर्जन गर्नुभएको यो विद्यालयलाई पछिल्लो कालमा नेपालको प्रजातान्त्रिक आन्दोलन (२०१७–२०४६) मा यहीँकै विद्यार्थीले सहादत दिनुभएको गौरवपूर्ण इतिहास रहेको मटिहानीवासी सम्झन्छन् ।

“नेपाली प्रजातान्त्रिक आन्दोलनका महान् शहिद केशव कोइरालाको शिक्षा यहीँ भएको हो, उहाँको सहादतस्थल पनि मटिहानीकै माटो हो”, मटिहानी–७ का ८५ वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल विसं २०३१ साउन ३१ गतेको कालो रात सम्झँदै भन्नुहुन्छ, “नेपाली कांग्रेसको सशस्त्र आन्दोलनको क्रममा मटिहानी प्रहरी चौकी कब्जा गर्ने सुरसारकै क्रममा उहाँको सहादत भयो ।” त्यसैगरी यसै विद्यालयका विद्यार्थी महेश कोइरालाको सोलुखुम्बुको टिम्बुरेमा भएको सहादतलाई आपूmहरु आदर र सम्मानका साथ सधैँ सम्झनामा राख्ने उहाँ बताउनुहुन्छ ।

करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको अहिले कक्षा–८ देखि १२ सम्म अध्ययन÷अध्यापन हुने यो विद्यालयमा पढेका विद्यार्थी मुलुककै विशिष्ट ओहदामा पुगेर कुशलतासाथ सो जिम्मेवारी निर्वाह गरेका मटिहानीबासी गौरव गर्दै सम्झन्छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति भइसक्नुभएका कुलप्रसाद कोइराला, पाठ्यक्रम विकास केन्द्रका निर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएका शम्भु दाहाल, सरकारको विशिष्ट श्रेणीका शम्भु कोइराला र न्यायशास्त्रका प्रकाण्ड विद्वान प्राध्यापक डा गोविन्द चौधरी र हाल बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण सचिब विद्यानाथ झा केही सम्झनाका विद्यार्थी रहनु भएका मटिहानीकै बासिन्दा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पूर्वसभापति रामकुमार मण्डल बताउनुहुन्छ । “यी नाउँ त अहिले सरसर्ति सम्झनामा आएका मात्र हुन् , यसको फेहरिस्त निकै लामो हुन्छ” विगतमा मटिहानी गाउँपञ्चायत रहँदा प्रधानपञ्चसमेत रही सक्नुभएका मण्डल भन्नुहुन्छ, “छिमेकको भारतको बिहार प्रान्तस्थित मिथिला विश्वविद्यालय, दरभङ्गा विश्वविद्यालय र बिहार विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार हुने पनि कैयौं यस विद्यालयका विद्यार्थी छन् ।

विसं २०४६ देखि विद्यालयमा पढ्न आउने विद्यार्थी घटेका छन् । खासमा प्रजातन्त्र पुनस्थापनायता ठाउँठाउँमा विद्यालय स्थापनाको लहर चलेपछि विकट पाहाडि भेगबाट पढ्न आउने विद्यार्थीको सङ्ख्या घटेको यहाँका शिक्षक बताउँछन् । “यहाँ भारतदेखि नेपालका विकट पाहाडि भेगका विद्यार्थी भरिभराउ हुन्थे”, यसै विद्यालयमा अध्ययन गरेर अहिले यहीं नै कर्मकाण्ड विषयका शिक्षक रहनुभएका शोभाकान्त झा भन्नुहुन्छ, “ती दिन सम्झँदा अहिले सुनसानझैँ लाग्छ ।” अहिले पनि मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्र्थी अध्ययनत रहेका झाले बताउनुभयो । हाल अध्ययनरत विद्यार्थीमा महोत्तरीबाहेक विकट पाहडी जिल्ला दैलेखका बढी छन् ।

विगतमा व्राह्मण जातिका वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्रा पढ्न पाउने भएका छन् । विद्यालयमा हिन्दू परम्पराका बिभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका छात्र पनि रहेका प्राचार्य पौडेल बताउनुहुन्छ । विद्यालयमा अहिले व्राह्मण, क्षत्री, जनजाति (केवट, धानुक) दलित (परियार, खत्बे, चमार) जातिका हिन्दू परम्पराका मात्र नभई इस्लाम धर्म परम्पराका छात्रसमेत अध्ययन गरी रहेका विद्यालयले जनाएको छ । जम्मा १५० विद्यार्थीमध्ये ६५ छात्राबासमा छन् । मुलुकको राजगुठीबाट विद्यालयको छात्राबासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । यसको स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ ।
मुलुकको माध्यमिक तहको पाठ्यक्रमअनुसार अनिवार्य सबै विषय अन्य विद्यालयजस्तै यहाँ पनि पढ्नुपर्ने हुन्छ । यसका अतिरिक्त अनिवार्य संस्कृत (भाषा, साहित्य) र ऐच्छिक प्रथम र द्वितीय गरी वेद, ज्योतिष, साहित्य, व्याकरण, न्यायशास्त्र र कर्मकाण्ड विषय छन् । प्रथम ऐच्छिकमा कर्मकायण्डको विकल्पमा साधारण विद्यालयको जस्तै इच्छाधीन गणित र शिक्षा रोज्न पाउने व्यवस्था छ । द्वितीय ऐच्छिकमा भने वेद, ज्योतिष, साहित्य, व्याकरण र न्यायशास्त्रमध्ये एक विषय पढ्नुपर्ने नियम छ । द्वितीय ऐच्छिकका सबै विषय संस्कृत माध्यमका रहेका प्राचार्य पौडेलले जानकारी दिनुभयो ।

विद्यालयको छात्राबासमा बस्ने वटुक (छात्र) ले दैनिक रुपमा बिहान रुद्राभिषेक पाठ गर्ने नियम छ । यो अखण्ड रुद्राभिषेक महर्षि फाउण्डेशनको सहयोगमा चार वर्ष पहिले प्रारम्भ गरिएको हो । फाउण्डेशनले विद्यालयलाई एकजना ध्यानगुरुको दरबन्दी दिएको छ । छात्राबासमा बस्ने विद्यार्थी सधैं अनिवार्य रुपले बिहानको योग, ध्यान र रुद्राभिषेकमा सरिक हुन्छन् । त्यसैगरी सधैँ विद्यालयमा सन्ध्या आरती हुन्छ । नियमित रुद्राभिषेक पाठले विद्यार्थीको वाचन शुद्ध भएर यहाँको देवकार्य, पितृकार्य नियमसङ्थगत हुने गरेको प्राचार्य पौडेल बताउनुहुन्छ । विद्यालय परिसरसँगै जोडिएको पौराणिक लक्ष्मीसागर (तलाउ) मा प्रत्येक बिहीबार हुने लक्ष्मीनारायण आरती छात्राबासका वटुकले नै गर्ने गरेका छन् । लक्ष्मीसागर रामायणकालमा रामसीताको विवाहमा वेदि बनाउन माटो खनिएको ठाउँ मानिन्छ ।

मटिहानी ओरपर वैदिक र पितृकार्य पर्दा यजमानले छात्राबासका विद्यार्थी सम्झने गरेका छन् । यस्तो कर्मकाण्डबाट विद्यार्थीलाई प्राप्त हुने दक्षिणाले उनीहरुको परदेश बसाइको खर्चमा मद्दत हुने गरेको छ । रुद्राभिषेक, सन्ध्या आरती, योग, ध्यान र साप्ताहिक लक्ष्मीनारायण आरतीको संयोजन, सञ्चालन विद्यालय, लक्ष्मीनारायण मठ र मटिहानी नगरपालिकाले गर्ने प्रबन्ध छ । यी तीनै संस्था संरक्षक मानिएका छन् ।

संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको यो विद्यालयको पुरानो छात्राबास भवन यसपालिको गत बर्खामा ढलेको छ । आठ कोठे सो भवन ढलेपछि अहिले छात्राबासमा बस्ने विद्यार्थीको बसोबासमा अप्ठ्यारो परेको विद्यालयले जनाएको छ । “राष्ट्रपतिमा सबै कुरा जाहेर ग¥यौँ”, प्राचार्य पौडेलले भन्नुभयो, “उहाँले चासोपूर्वक सबै कुरा सुन्नुभयो, राष्ट्रप्रमुखको आँखा परेको समस्याबारे राज्यले केही गर्ला भन्ने आस पलाएको छ ।” विद्यालयमा समयअनुकूल पठनपाठनका विषय थपिन आवश्यक रहेको र व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि आयुर्वेद विषयको अध्ययन÷अध्यापनको खाँचो रहेको राष्ट्रपतिलाई जानकारी गराइएको प्राचार्य पौडेलले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu