Connect with us
Kapilvast Forest

तीन बुँदे सहमति गरेर हामी इमानदारीपूर्वक आएका छौँ तर राज्य भागिरहेको छ : विप्लव

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले तीन बुँदे सहमति गरेर आफूहरू इमानदारीपूर्वक आएको भए पनि सहमति लागू नगरेर राज्य भागिरहेको आरोप लगाउनुभएको छ ।

मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको आज (बुधवार) म्याग्दीको बेनीमा उद्घाटन गर्दै उहाँले सहमति गरेको एक वर्ष बित्नै लाग्दा पनि सरकारले तीन बुँदे सहमति लागू नगरेको बताउनुभएकाे हो । उहाँले सहमतिको दुई नम्बर बुँदामा बन्दीहरू छाड्ने, झुट्टा मुद्दा खारेज गर्ने भने पनि त्यो कार्यान्वयन नभएको बताउनुभयो ।

महासचिव विप्लवले भन्नुभयो, ‘पैसाको कुरा त पहिले नै सिद्धिसक्यो, पदको कुरा पहिल्यै सिद्धिसक्यो । त्यसैले याे तीन बुँदे कुनै पदका लागि गरिएको सहमति होइन, यो कुनै पैसाका लागि गरिएको सहमति होइन । हामी राजनीति किन गर्दैछौँ ? हामी पार्टी किन खोल्दैछौँ ? हामी नागरिकमा किन फर्किन चाहन्छौँ भन्ने त्यो कुरा बुझाउनका लागि गरिएको सहमति हो ।’

उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति भए पनि आफ्ना साथीहरूलाई छाड्न कानुनी झमेला छ भन्नुभएकाे सुनाउनुभयाे । ‘अहिले शेरबहादुरजीको सरकार बनेको छ । शेरबहादुर र प्रचण्डजीको सरकारले पनि दर्जनौँ विधेयक र अध्यादेश लिएर गएको छ । हुँदा–हुँदा केपीले ४० प्रतिशतले पार्टी फुटाउनुपर्छ भन्दा प्रतिगामी भन्ने शेरबहादुर र प्रचण्डजीहरू २० प्रतिशतले पार्टी बनाउन पाउँछ भनेर पनि कानुन बताउनुभयाे । तर हाम्रो न्यायका लागि लड्ने योद्धाहरूलाई जेलमा राखेर अगाडि कानुनको बाधक छ भन्नुहुन्छ’, महासचिव विप्लवले गुनासाे गर्नुभयाे ।

उहाँले माओवादी केन्द्रप्रति लक्षित गर्दै भन्नुभयो, ‘हाम्रा साथीहरूलाई झुट्टा मुद्दा लगाएर, जेलमा कोचेर, फैसला गरेर अनि हामीसँग एकता हुन्छ ? हामीले उठाएको न्यायपूर्ण आवाजलाई कुल्चिएर अनि एकताको कुरा अहिले सम्भव छ ? अनि त्यसपछि गएर अहिले कांग्रेससँग गठजोड गरेर, अनि कांग्रेसले हाम्रो कुरा नसुनेर एकताको सम्भव छ ? त्यसैले मैले के भन्छु भने– त्यसरी गरिने प्रचारमा हामी कोही पनि भ्रममा पर्नुहुँदैन ।’

अहिले कानुन सिकाउने वकिल र न्यायाधीशले आफ्नै नेतृत्वविरुद्ध आन्दोलन गर्नुपर्ने, दुई पटकसम्म संसद् विघटन हुनु, झन्डै दुई तिहाइ बहुमतको सरकार ढल्नु र देशमा भ्रष्टाचार बढ्नुमा संसदीय व्यवस्थाको कारणले भएको महासचिव विप्लवको भनाइ छ । वैज्ञानिक समाजवादको अभ्यासका लागि जनमत सङ्ग्रह गरेमा आफूहरू प्रतिस्पर्धामा जान तयार रहेको महासचिव विप्लवले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu