एमाले केन्द्रीय समितिमा लुम्बिनीबाट ५० बढी आकांक्षी
बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट ५० जना बढी नेताहरु आकांक्षी देखिएका छन् ।
एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका ८ जना नेताहरूले दाबी गरेका छन् । २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा ३५ भन्दा बढी नेताले आकांक्षा राखेका छन् ।
अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल दाबेदार छन् । उनीहरुले आफ्ना निकट कार्यकर्तामार्फत सामाजिक सञ्जालबाट उम्मेदवारी सार्वजनिक गरेका छन् ।
रुपन्देही–२ का संघीय सांसद समेत रहेका उपमहासचिव पौडेल एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको पनि महासचिव थिए । अहिले एमालेको संगठन विभाग प्रमुख छन् । पार्टीमा सबै पक्षलाई समन्वय गरेर लैजान सक्ने र यसअघि महासचिव भइसकेकाले महासचिवमा पौडेलले नै बाजी मार्ने उनी निकट नेताहरुको दावी छ ।
उता लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य दाङका पोखरेल पनि महासचिव बन्न चाहन्छन् । पार्टी अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वासपात्र समेत रहेका पोखरेल वैचारिक नेता नभएकाले महासचिवमा पोखरेलको आवश्यकता रहेको उनी निकटका नेताहरुको तर्क छ । तर दुबैजनाले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।
पार्टीको उपाध्यक्षमा यसअघि लामो समय माधव नेपाल समूहमा रहेका एमालेका हालका उपाध्यक्ष युवराज ज्ञवाली दोहोरिन चाहन्छन् ।