अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट
काठमाडौँ– पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ । गत महिना अक्टोबर २५ को अन्तरदिवसीय कारोबारमा ८७ अमेरिकीडलर प्रतिब्यारेलसम्म पुगेको कच्चा तेल शनिबार नोभेम्बर २७ मा ७२.७२ डलरमा कारोबार भइरहेको छ । दक्षिण अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन थालेपछि त्यसले विश्व अर्थतन्त्रमा पुनः प्रतिकूलता सिर्जना हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहे तेल निर्यातक राष्ट्रहरूको अर्थतन्त्रमा असर देखापर्न सक्छ । फलस्वरूप यसले रेमिट्यान्स प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्री बताउँछन् । चालु आर्थिक वर्षको सुरुवातदेखि नै नेपालमा भित्रने रेमिट्यान्समा गिरावट आइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा पेट्रोलियम पदार्थको बिक्री मूल्य उल्लेख्य बढेको छ । डिजेलको बिक्री मूल्य अहिलेसम्मकै उच्च प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ भने झण्डै ८ वर्ष अघि २०७० साल फागुनमा पेट्रोलको मूल्य १४० रुपैयाँ प्रतिलिटर पुगेको थियो । त्यतिबेला ढुवानी भाडामा वृद्धिका कारण मूल्यवृद्धिमा चाप पर्न सक्ने भन्दै डिजेलको मूल्य भने १०९ रुपैयाँ प्रतिलिटर कायम गरिएको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि वाणिज्य तथा आपूर्ति मन्त्री बनेका सुनिलबहादुर थापाले २०७१ असोजमा स्वचालित मूल्यपद्धति लागू गरेका थिए । उक्त मूल्यपद्धति लागू गर्दा पेट्रोलियम पदार्थको बिक्रीबाट हुने नाफाको निश्चित अंश मूल्य स्थिरिकण कोषमा राखेर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्तालाई राहत दिने उल्लेख गरिएको थियो । मूल्य स्थिरिकरण कोषमा १२ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भैसकेको भएपनि निगमले त्यसलाई प्रयोगमा ल्याएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले डिसेम्बर १ मा निगमले प्राप्त गर्ने नयाँ मूल्यसूचीमा मूल्य घटेर आउने र उक्त मूल्य अनुसार उपभोक्ता मूल्य पनि कम हुने अपेक्षा गरिएको छ ।