शिवराजमा पौष १ गते देखि खेल महोत्सव हुने, १५ सय बढी खेलाडीको सहभागीता रहने
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकामा खेल महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी पुस १ गते देखि ९ गते सम्म महोत्सव हुन लागेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख नेत्रराज अधिकारीले खेल महोत्सव बारे जानकारी दिँदै राष्ट्रलाई अन्र्तराष्ट्रिय जगत सम्म पहिचान गराउन खेलले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा नगरका खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि खेल महोत्सवको आयोजना गरिएको बताउनुभयो । विगतका वर्षमा भन्दा यस वर्ष केही फरक तवर वाट खेल सञ्चालन गरिएको बताउँदै खेललाई भव्य रूपले सफल बनाउनुपर्ने बताउनुभयो । खेल स्वास्थ्यको लागि फलदायी र युवाहरूलाई दुर्व्यसन बाट टाढा बनाउन टेवा पुग्ने बताउनुभयो ।
खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप र उप मेयर कप शीर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ ५ विधामा अन्तर्गत भलिबल,एथलेटिक्स,कराते,उसु कपर्दी खेल प्रतियोगिता हुने पन्थीले बताउनुभयो । त्यस्तै मेयर कप तर्फ फुटबल,क्रिकेट र भलिबल उपमेयर कप तर्फ फुटबल,भलिबल र कराते प्रतियोगिता हुने जनाइएको छ । खेलमा १५ सय बढी विद्यार्थी खेलाडी सहभागी हुने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनुभयो ।
विगतका वर्षमा क्लब स्तरीय प्रतियोगिता हुने गरेको र यस वर्ष भने वडा स्तरीय प्रतियोगिता गराई त्यस वाट उत्कृष्ट समूह तयार गर्ने नगरको योजना रहेको बेल्वासेले बताउनुभयो । ९ दिन सम्म चल्ने उक्त महोत्सवलाई सफल र व्यवस्थित बनाउन सबै नगरवासी सरोकारवालाहरूले सहयोग गर्न बेल्वासेले आग्रह गर्नुभयो ।