पाइपबाट इन्धन : ३० महिने लक्ष्य, १७ महिनामै पूरा
काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकामा पाइपबाटै इन्धन सुरु भएको समाचारले विशेष प्राथमिकता पाएको छ भने अन्य भिन्न भिन्न विषयका शीर्ष समाचार छापिएका छन् । राजधानी दैनिकले दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइपलाइन शीर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरदेशीय पाइपलाइनको संयुक्त रुपमा उद्घाटन गनुभएको हो । समाचारमा उल्लेख भए अनुसार पेट्रोलियम पदार्थको ढुवानी सहज भएसँगै मूल्य समेत घटेको छ । बहुप्रतिक्षीत – मोतिहारी – अमलेखगञ्ज – पेट्रोलियम पाइपलाइन परियोजना मंगलबारबाट औपचारीक रुपमा सुरु भएको छ । पाइपबाट इन्धन ल्याउने सरकारकाे ३० महिने लक्ष्य १७ महिनामै पूरा भएकाे हाे ।
अन्नपूर्ण पोष्ट् दैनिकमा पाइपबाट इन्धन ल्याउने सरकारको ३० महिने लक्ष्य भएपनि १७ महिनामे पूरा भएको भन्दै शीर्ष समाचार बनाएको छ । यसको सञ्चालनबाट इन्धनको सुनिश्चतता हुने समाचारमा लेखिएको छ । पाइपबाट इन्धन आउने भएपछि ढुवानी लागत घट्ने र इन्धनको मूल्य समेत घट्ने समाचारमा विश्लेषण छ ।
कान्तिपुर दैनिकले ‘पनि अब पाइपबाटै तेल’ शीर्षकमा प्रमुख समाचार छापेको छ । पत्रिकाले नेपाल आयल निगमको बारा अमलेखगन्जस्थित डिपोमा भारतबाट तेल आउने पाइपलाइनको संरचनाको तस्बिर सहितको विश्लेषणात्मक समाचार बनाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेरा मित्र ओलीजी र मबीच राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको’ भनेर अभिव्यक्ति दिनुभएकाे विषयसमेत समाचारमा समेटीएको छ ।