Connect with us
Kapilvast Forest

सामाजिक सुरक्षा योजनामा मासिक ४४ हजारसम्म पेन्सन

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौँ- सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक ४४ हजार रुपियाँसम्म पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका १२३ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ४४ हजार रुपियाँसम्म पेन्सन वितरण गर्दै आएको छ ।

कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ता आश्रित परिवारलाई मासिक चार हजारदेखि ४४ हजार रुपियाँसम्म पेन्सन वितरण गर्न सुुरु गरिसकेको जानकारी दिनुुभयो ।

उहाँका अनुसार सामाजिक सुरक्षा ऐनअनुसार कोषको योजनामा योगदान गरिरहेकै अवस्थामा योगदानकर्ताको मृत्यु भएमा निजका आश्रित परिवारले मृतक योगदानकर्ताले प्राप्त गर्ने मासिक तलबको ६० प्रतिशत आश्रित परिवारलाई पेन्सनको व्यवस्था छ ।
कोषमा योगदान गरिरहेको अवस्थामा हिमाल हाइड्रोपावर कम्पनीमा कार्यरत रामप्रसाद फुयालको मृत्यु भएपछि उहाँकी श्रीमती जानुुका फुयालले मासिक ४४ हजार रुपियाँ पेन्सन प्राप्त गर्न थाल्नुुभएको हो । मृतक योगदानकर्ता फुयालले उक्त कम्पनीमा मासिक ७३ हजार ५५२ रुपियाँ प्राप्त गर्दै आएको र उहाँले पाउने तलबको ६० प्रतिशत हुन आउने रकम उहाँकी श्रीमती जानुुकाले पेन्सन प्राप्त गर्न थाल्नुुभएको हो ।

यस्तै टेम्पल टी रिसोर्टमा कार्यरत कृष्णप्रसाद आचार्यको पनि योगदान गरिरहेका बेलामा मृत्यु भएको हुँदा उहाँसँग आश्रित श्रीमती नुनु जोशीले मासिक २४ हजार रुपियाँ पेन्सन प्राप्त गर्न थाल्नुुभएको छ । रिलायन्स स्पाइरिङ मिल्स विराटनगरमा कार्यरत पम्फा नेपालीको आश्रित श्रीमान् केशवकुमार सुुर्खेतीले मासिक चार हजार २३२ रुपियाँ पेन्सन प्राप्त गर्न थाल्नुभएको छ । सो ऐनअनुसार जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा बाहेक आश्रित परिवारले सो सुविधा प्राप्त गर्ने सुविधाअन्तर्गत उहाँहरूले उक्त पेन्सन लिन थाल्नुुभएको हो ।

ऐनअनुसार योगदानकर्ताको मृत्यु भएमा आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत पति वा पत्नीले पाउने निवृत्तभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति, आश्रित बाबुुआमाले पाउने सुविधा र योगदानकर्ताको अन्तिम संस्कार खर्च पाउने व्यवस्था छ । यस्तै ऐनमा मृतक विवाहित नभएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ठ २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।

योगदानकर्ताको मृत्यु भएको अवस्था निजको सन्तति १८ वर्ष उमेर नभएसम्म सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ता अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा प्राप्त गर्ने सोही ऐनमा व्यवस्था छ । यस प्रकारको सुुविधा दुुई सन्ततिले दामासाही रूपमा प्राप्त गर्न सक्ने व्यवस्था छ । कोषका अनुसार हाल १२३ जनालाई मासिक पेन्सन वितरण गर्दै आएको छ । पेन्सनबापत कोषले मासिक झन्डै २१ लाख रूपियाँ खर्च गर्दै आएको जनाएको छ ।

कोषका अनुसार हाल झन्डै १६ हजार रोजगारदाता र करिब तीन लाख योगदानकर्ता कोषमा आबद्ध भएका छन् । कोषका अनुसार यही मङ्सिर १५ गतेसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १५ हजार ८९२ रोजगारदाता कम्पनी र दुई लाख ९७ हजार ३३४ योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । सो अवधिसम्म कोषमा १० अर्ब ५० करोड रुपियाँ सङ्कलन भएको छ । कोषबाट औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनामा गरिब ४८ करोड १३ लाख रुपियाँ दाबी भुक्तानी गरिसकेको कोषले जनाएको छ ।

गोरखापत्र अनलाइन

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu