नियामक निकायका कारण सेयर बजारमा धक्का’
काठमाडौं-नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको दावी गर्नु भएको छ । अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर सेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताउनु भएको हो ।
उहाँले सेयर बजार नियामक निकायहरुले सेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताउनु भयो । सेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा सेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाउनु भयो ।
अध्यक्ष पोखरेलले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फर्किएकाले बजार गिरावट भएको बताउनुभयो । कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताउँदै अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको धारणा राख्नु भयो ।