भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
काठमाडौं- भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।
दुर्घटनामा परी ४ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनास्थलबाट ४ जनाको शव बरामद भएको र गम्भीर घाइते ३ जनालाई अस्पताल भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर मृतकको पहिचान भने खुलाइएको छैन ।
समाचारहरुका अनुसार सेना प्रमुख रावतलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको छ । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् ।
रावतलाई गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावत, रावतकी पत्नीसहित १४ जना सवार रहेका थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।