अन्तरजातीय विवाह गरेका हुम्लाका युवक ६ दिनदेखि बेपत्ता
काठमाडौं – अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् ।सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले बताउनु भयो ।
उहाँका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको थियो । ‘हामीलाई खबर आएपछि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो, तर नभेटिएपछि जिल्लाका डीएसपी हेरम्भ शर्मा आफैं खोजीमा गएका छन्’ ऐरले भन्नु भयो , ‘अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन ।’
उनका अनुसार चन्द्र हराएको भनिएको स्थान पुग्न सदरमुकामबाट दुई दिन पैदल यात्रा गर्नुपर्छ । सुर्केगाडका उपमेयर जोशी धामीका अनुसार मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी एक जना १७ वर्षीय मल्ल थरकी युवतीसँग उहाँले एक(दुई महिनाअघि भागी विवाह गर्नु भएको थियो ।
‘उहाँ विहे गरेर जैरमा आएको थाहा पाएपछि केटी पक्षका व्यक्तिहरु २९ मंसिरमा घरमा आएका रहेछन्’ जोशीले भन्नु भयो भयो , ‘घरमा आएर कुटपिट गर्दै लगेको केटा पक्षको आरोप छ ।’
तर केटी पक्षले चाहिँ छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ । स्थानीय राजनीतिकर्मी कृष्ण बलमे जिल्ला फरकफरक भए पनि दुवैको घर वारिपारि पर्ने बताउनु भयो । ‘केटी मल्ल, केटार लुहार भएपछि कुरा नमिलेर झगडा भएको भन्ने छ’ उहाँले भन्नु भयो भयो ‘विस्तृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’स्रोतका अनुसार अहिले प्रहरीले युवती र उहाँका बुबालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।