अर्थतन्त्रका सूचकमा संकट आयो भनेर भ्रम छर्न खोजिएको छ : अर्थमन्त्री शर्मा
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी गलत प्रचार भइरहेको बताउनु भएको छ। उहाँले यो प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिनु भएको छ । ‘अर्थतन्त्रका सूचकमा संकट आएको भनी भ्रम छर्न खोजिएको छ,’ सोमबार मन्त्रालयमा आयोजित अन्तर मन्त्रालयगत छलफलमा उहाँले भन्नु भयो , ‘पुँजीगत खर्चको स्थिति कमजोर छ। यो साँचो हो। तर अन्य सूचकहरू संकटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो।’
मन्त्री शर्माले पुँजीगत खर्च बढाउन वनसम्बन्धी विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने बताउनु भयो। ‘वनमा क्षेत्रमा पूर्वाधार निर्माणका लागि वन मन्त्रालयले गर्नुपर्ने काम मौजुदा ऐन नियमका कारण चाँडो नहुँदा पुँजीगत खर्च प्रभावित हुने गरेको छ। त्यसमा सुधार हुनुपर्छ,’ शर्माले भन्नु भयो । पुसभित्र आ–आफ्नो मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत पुर्याउन आग्रह गर्नु भयो । जसका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने सहमतिरसमन्वय समयमै गर्ने प्रतिबद्धता जनाए। खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहको ठाउँमा पठाइदिने उहाँको भनाइ थियो।
निजी जग्गाको काठसमेत जनताले उपयोग गर्न नमिल्ने कानुन बदल्नुपर्ने शर्माले बताउनु भयो । ‘निजी जग्गाको रुख उपयोग गर्दासमेत कारबाही गर्ने गरिएको छ। यो नियम परिवर्तन गरौं।’ उहाँले भन्नु भयो , ‘जंगलमा बहुमूल्य काठ कुहिएर खेर जाने स्थितिको अन्त्य गरौं। नेपालकै काठ सदुपयोग गर्न मिल्ने कानुन बनाऔं।’ यस्तै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा दिइने गरेको दैनिक ज्याला बढाएर एक हजार आसपास पुर्याउने गरी कार्यविधि बनाउन श्रम मन्त्रालयलाई आग्रह गर्नु भयो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटल तथा रेस्टुरेन्टलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिनु भयो ।
‘यसले व्यवसाय फस्टाउने र राजस्व वृद्धिमा पनि सहयोग पुग्छ,’ उहाँले भन्नु भयो , ‘सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार छ।’ कृषिमन्त्री महेन्द्रराय यादवले सरकारले कृषकबाट धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।