महाराजगन्जमा सुविधा सम्पन्न अस्पताल बन्दै
सुवास पौडेल,कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शैयाको अस्पताल भवन निर्माणको तयारी सुरु गरेको छ । पालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक अस्पताल भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । मुसलमानले तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले भने निर्माण हुने अस्पतालमा इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास रहने छन् ।
नगरपालिकाले भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । संघीय सरकारको सहयोगमा बन्ने भवनलाई दुई वर्ष भित्र सम्पन्न गराउने लक्ष्य लिएको छ । महाराजगंजमा अस्पताल बन्ने भएपछि स्थानीवासी हर्षित भएका छन् ।
नयाँ बन्ने भवनको तीन तल्ला सम्म एम्बुलेन्स पुराउन सकिने गरी डिजाइन गरिएको छ । भवन निर्माणका लागि नगरपालिकाले थप जग्गा व्यवस्थपन गर्दै डेढ बिगाहा क्षेत्रफलमा निर्माण हुने भएको छ । भवनको डिपिआर ड्रिम डेभलोपर्स प्रा.ली.ले सम्पन्न गरेको थियो ।