Connect with us
Kapilvast Forest

कर्मचारी नबस्दा प्रयोगविहीन बन्दै करोडौँका सरकारी भवन

२०७८, १४ पुष बुधबारमा प्रकाशित

डोटी – सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलाली तोकेसँगै यहाँका करोडौँ लगानीमा निर्माण गरिएका दिपायल राजपुरका अधिकांश सरकारी भवन रित्तो अवस्थामा रहेका छन् । पुरानो नौ जिल्लाको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलमा रहेका दजर्नौं सरकारी कार्यालयहरु कर्मचारी नबस्दा रित्तो हुँदै गएका छन् ।

यहाँका क्षेत्रीय स्तरका कार्यालयहरु प्रदेश सरकारले तोकेको राजधानी कैलालीमा सरेपछि कर्मचारी नहुँदा कार्यालय बाँझो बन्दै गएका हुन् । दिपायल राजपुरमा करोडौं लगानीमा सरकारले सेती सभाहल सहित दजर्नौं कार्यालय प्रयाेग विहीन भएका छन् ।

यसैगरी पुरानो क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्री सम्पर्क कार्यालय तोकिएपनि आवश्यक दरबन्दी अनुसारका कर्मचारी नआउँदा त्याे कार्यालय पनि खाली अवस्थामा रहेको दिपायल राजपुरका स्थानीयवासी रतनबहादुर कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजधानी त कैलाली सारियो, यहाँ भएका कार्यालयमा त कर्मचारी पठाउनुपर्ने, कर्मचारी नहुँदा कार्यालय रित्तो भएका छन् ।” कार्यालयमा कर्मचारी नहुँदा रित्तो भएका कारण ती कार्यालयमा छाडा गाइ गोरु आउने र बास बस्ने गरेको पाइएको छ । दिपायलमा रहेका कार्यालयमा दरबन्दी भएका कर्मचारी पठाइदिन पटक-पटक मुख्यमन्त्री तथा सम्बन्धित कार्यालयमा निवेदन गर्दा समेत कर्मचारी नपठाएको दिपायल पिपल्लाका स्थानीयवासी तथा उद्योगवाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दिपायलमा करोडौँका सरकारी भवन बाँझो परेका छन्, भाडाको घरमा कैलालीबाट काम सञ्चालन हुँदै छ, कर्मचारी पठाउन आग्रह गर्दा समेत सुनुवाइ भएन, हाम्रा पीडा कसैले बुझेनन् ।” दिपायलमा निर्माण भएका संरचनाहरुलाई प्रयोगमा ल्याउनका लागि प्रदेश स्तरीय विभाग तथा सेवा कार्यालयहरु राख्नु पर्ने यहाँका स्थानीयवासीको माग रहेको छ । स्थानीयवासीका अनुसार साविकको क्षेत्रीय प्रशासकको कार्यालयसँगै, स्वास्थ्य निर्देशनालय, शिक्षा निर्देशनालय, कृषि लगायत अन्य कार्यालयका भवनहरु पूर्ण रुपमा प्रयोगमा छैनन्।

प्रदेश सरकारले दिपायल राजपुरमा रहेका सरकारी संरचना पूर्ण रुपमा प्रयोगमा रहेको दाबी गरेपनि कार्यालय प्रमुखहरु भने यहाँ बस्न नमान्ने गरेको स्थानीयवासीको आरोप छ ।

यहाँका अधिकांश कार्यालय प्रमुखहरुले धनगढीमा सम्पर्क कार्यालय खोलेर बसेको पाइएको छ । यहाँका क्षेत्रीय स्तरका कार्यालयहरु पछिल्लो समय कैलाली तथा कञ्चनपुर जिल्लामा सर्ने क्रम जारी रहेको होटेल व्यवसायी संघका अध्यक्ष राजेन्द्र शाहीले जानकारी दिनुभयो । उता सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले क्षेत्रीय स्तरका कार्यालय दिपायल राजपुरमा तोकिएको र त्यही अनुसार कर्मचारी खटाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्षेत्रीय स्तरका कार्यालय दिपायलमा तोकिएको छ, त्यहाँ खटिएका कर्मचारी बस्न नमाने वा नगए कारबाही हुन्छ ।”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu