कमल थापाद्वारा पार्टीको कार्यक्रम बहिस्कार
काठमाडौं-राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रम वहिस्कार गर्ने बताउनु भएको छ । राप्रपाले पृथ्वीजयन्तकी अवसरमा मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेकामा थापाले सो कार्यक्रम बहिस्कार गर्ने बताउनु भएको छ ।
थापा निकट नेता राजाराम बर्तौलाले आफूहरुको माग सम्बोधन नभएकाले कमल थापा कार्यक्रममा सहभागी नहुने बताउनु भयो । थापाले पार्टी महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । तर,सो मागको सुनुवाइ अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छैनन् ।
थापाले निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउँदै हिन्दुराष्ट्रको पक्षमा पृथ्वीजयत्नीकै दिनदेखि देशव्यापी रुपमा राष्ट्रिय एकता अभियानको थालनी गर्ने योजना बनाएका थिए । कोरोनाको कारण देखाउँदै यो अभियान तत्काललाई स्थगित गरिएको छ ।
यसैबीच थापा पार्टीको कार्यक्रममा सहभागी नहुने भएपनि आजै बिहान सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु भएको छ ।
लिङ्देन नेतृत्वको राप्रपाले भने भृकुटीमण्डपबाट र्यालीसहित साढे १२ बजे पृथ्वीनारायणको शालिकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।