दाङ जिल्ला अदालतमा पहिलो पटक गोला प्रथाबाट मुद्दा सुनुवाइ
दाङ-जिल्ला अदालत दाङमा सोमबारदेखि गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ सुरू भएको छ।गोला प्रक्रिया जिल्ला अदालतमा सुरू भएको पहिलो पटक हो।अदालतमा दर्ता भएका मुद्दाहरूको बाँडफाँट तथा सुनुवाइ प्रक्रियामा पारदर्शिता कायम गर्न र अदालतबाट सम्पादन हुने न्यायिक कामकारबाहीप्रति जनआस्था अभिवृद्धि गर्ने उद्देश्यसहित पहिलो पटक गोला प्रक्रियामार्फत् मुद्दाको सुनुवाइ सुरू भएको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले सेतोपाटीलाई बताउनु भयो ।
‘आजदेखि औपचारिक रूपमा गोला प्रक्रियाद्वारा अपारदर्शी थैलीमा राखिएका गोला रोजेर माननीय जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालले मुद्दा सुनुवाइको प्रक्रिया थालनी गर्नुभएको हो,’ सूचना अधिकारी शर्माले भन्नु भयो ।
अदालमा कार्यरत अन्य दुई जना न्यायाधीशहरू बिदामा भएकाले उपस्थित न्यायाधीश शर्मा अर्यालले साप्ताहिक पेसी सूचीमा चढेका तीन वटा मुद्दा समूहमध्ये गोला छानेर २ नम्बर फाँट समूहका मुद्दाको सुनुवाइ सुरू गरेको शर्माले जानकारी दिनु भयो ।
जिल्ला अदालत नियमावली २०७५ तथा जिल्ला अदालतमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८ बमोजिम साप्ताहिक पेसी सूचीमा चढेका दुइटा कजलिस्ट मुद्दा फाँट १ र मुद्दा फाँट ४ समूहका सबै मुद्दाहरू स्थगित भएको सूचना अधिकारी शर्माले बताउनु भयो ।