Connect with us
Kapilvast Forest

सेयर बजार ओरालो लाग्यो, लगानीकर्ता बिच्किए ! राजनीतिक स्थिरता हुँदा पनि किन खस्कियो सेयर बजार ?

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

३१ भदौ, काठमाडौं । सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले आइतबार सामाजिक सञ्जालमा लेखे, ‘साँच्चै नयाँ-नयाँ किताबहरुको खोजी गरी एकान्तमा पढ्ने दिन आएकै हो त ? नेप्से १७.८७ ।’

पौडेल सेयर लगानीकर्ताहरुको सबैभन्दा पुरानो छाता संगठन इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष हुन् । आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएपछि पौडेलले सामाजिक सञ्जालमा निराशा पोखेका हुन् ।

पौडेलको स्टाटसमा एकजनाले कमेन्ट लेखेका थिए, ‘०६०/६३ सालको झझल्को आयो मलाई त । कुनै दिन ब्रोकरमा गफ गर्ने मान्छेसमेत नभएर कुर्सीमा एक्लै सुतेर बस्थेँ । त्यतिबेला त देशमा पुरै द्वन्द्व थियो, घट्नु ठिकै हो । यतिबेला त नकारात्मक वातावरण छैन । किन घट्यो, थाहा छैन ।’

धेरै सेयर लगानीकर्ता यतिबेला निराश छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा उनीहरुको लगानी डुबिरहेको छ ।

सोमबार १६.१८ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय २३.८३ अंकमा झरेको छ । यसअघि आइतबार पनि १७.८७ अंकको गिरावट आएको थियो ।

गत साताभर पनि बजार ओरालो यात्रामा नै थियो । नेप्से परिसूचक एक सातामा ३३.१९ अंकले खस्केको थियो । साताभर कुल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता सेयर एक अर्ब ५६ करोड तीन लाख ९९ हजार रुपैयाँ बराबरको कारोवार भयो ।

किन खस्कँदैछ सेयर बजार ?

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजारको अवस्था देखेर सबै लगानीकर्ताहरुमा निराशा छाएको बताउँछिन् । कतिपय लगानीकर्ताहरु घाटा खाएर भए पनि सेयर बेचेर बजारबाटै बाहिरिने योजनामा समेत रहेको उनले सुनाइन् ।

‘आजमात्रै धेरै साथीहरुको फोन आयो, बजारबाट हामी निस्कन्छौं, गाह्रो भयो भनेर धेरै दुखेसो गर्नुभएको छ’ पोखरेल भन्छिन्, ‘जतिमा हुन्छ, किन्ने मान्छे आए बेच्दिनुपर्ने अवस्थामा छन् लगानीकर्ताहरु ।’

सरकार बजारका विषयमा गम्भीर बने यस्तो अवस्था सिर्जना नहुने उनी बताउँछिन् । बजार घट्नुमा सरकारी नीति पनि एउटा कारण भएको उनको तर्क छ ।

‘नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायतलाई बजारमा प्रवेश गराउनेतर्फ ध्यान दिने हो भने सुधार हुन्न सक्छ,’ पोखरेलले भनिन् ।

लगानीकर्ताहरुकै अर्को संगठन नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षण चौधरी पनि बजारको पछिल्लो अवस्थाले लगानीकर्ताको मनोवल गिरेको बताउँछिन् ।

‘बजार उकासिन अझै समय लाग्ने देखियो, मनोबल नै छैन, कसरी बढ्छ ?’ उनले भनिन्, ‘लगानीकर्तासँग पैसा नभएका कारण पनि बजारलाई नकारात्मक असर गरेको छ ।’

बजार कसैले भनेर बढ्ने वा घट्ने नहुने भए पनि अर्थमन्त्रीले सकारात्मक बोलिए केही सुधार हुन सक्ने उनी बताउँछिन् । नीति निर्माण गर्ने तहका व्यक्तिहरु सकारात्मक भए बजारलाई राम्रो प्रभाव पार्ने उनको धारणा छ ।‘अर्थमन्त्रीका कारण घट्यो पनि भनिन्छ, तर म अर्थमन्त्रीकै कारण बजार घट्यो भन्ने पक्षमा छैन’ चौधरीले भनिन्, ‘अर्थमन्त्रीले बजारमा केही समस्या छैन लगानी गर्नुस् भनिदिए बजार धेरै नबढे पनि केही सुधार पक्कै हुन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj