कांगेसको जिल्ला अधिवेशन फेरि सर्ने
काठमाडौँ – तीव कोरोना संक्रमणका कारण नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्ने भएको छ । मधेश प्रदेशका आठ जिल्लासहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तय गरिएको थियो । यसअघि पुस २७ का लागि तोकिएको अधिवेशन सारिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरी जिल्ला अधिवेशन सार्ने निर्वाचन समितिले जनाएको छ ।
१४औं महाधिवेशन अघि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन । मधेश प्रदेशको अधिवेशन भने महाधिवेशन सकिए लगत्तै गरिएको थियो । संक्रमणको परिस्थिति सामान्य नहुँदासम्म अधिवेशन नगरिने र निर्वाचन समितिको बैठक १/२ दिन भित्रमै बसेर अधिवेशन सार्नेबारे औपचारिक निर्णय हुने बताइएको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली, बाँके, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ । अन्य जिल्लाको अधिवेशन १४औं महाधिवेशन हुनुभन्दा अघि नै सकिएको थियो ।