साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन
काठमाडौ – पुर्व सासंद समेत रहेका साल्ट ट्रेडिङ कर्पोरेशन लि.का संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९३ बर्षको उमेरमा बिहिबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।
काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते जन्मिएका मानन्धर एमालेबाट २०५८ मा राष्ट्रियसभामा चुनिएका थिए । त्यसो त उनी लामो समय देखी साल्ट ट्रेडिङ संचालक समितिको अध्यक्षका रुपमा निर्वाचित हुँदै आएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व कोषाध्यक्ष समेत रहेका मानन्धर नेपालका प्रतिस्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् । नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक समेत हुन उनी ।
ठोरीबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए । नेपालमै पहिलो पटक मोजा उद्योग खोलेका उनले पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका थिए । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।