Connect with us
Kapilvast Forest

बेवारिसे शवको खुलेन पहिचान

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

death

बुटवल — माघ ११ मा रूपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटियो । अन्दाजी २५ वर्षीया महिला र ७ वर्षीया बालिकाको घाँटी रेटिएको थियो । अनुहार र शरीरभरि रगत लतपतिएको थियो । देवदह नगरपालिका–९ को पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाह पुल नजिकै जंगलमा शव फेला परे ।

मध्यान्ह १२ बजे रगताम्य अवस्थामा सडकको डिलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिडम्वना अहिलेसम्म न त्यो शवको पहिचान खुलेको छ, न त हत्याबारे प्रहरीले कुनै रहस्य पत्ता लगाएको छ । उनीहरूको शव लुम्बिनी प्रादेशिक अस्पतालमा थन्काइएको छ ।

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले ती शव मधेसी मूलका र आमाछोरीजस्ता रहेको बताए । ‘७७ वटै जिल्लामा मृतकको फोटोसहितको हुलिया पठायौं । यसबाट पहिचान भएन,’ उनले भने, ‘अहिले भारतीय नागरिक हुन् कि भन्ने आशंकामा भारतीय प्रहरीलाई पनि हुलिया पठाएका छौं ।’ यससँगै बेस ट्रान्स रिसिभर स्टेसन (बिटिएस) रेकर्डरको पनि सघन अनुसन्धान गरिरहेको उनले बताए ।

पुस ६ मा लुम्बिनीको मायादेवी मन्दिर परिसरमा युवतीको शव फेला पर्‍यो । मधेसी मूलकी जस्ती देखिने अन्दाजी १९ वर्षीया युवतीको शव फेला परेको हो । शव फेला परेको डेढ महिनासम्म पनि युवती को हुन् ? प्रहरीले पत्ता लगाउन सकेको छैन । पहिचान नै नभएपछि किन हत्या भयो ? त्यसबारेको अनुसन्धान ठप्पजस्तै छ । पछिल्लो समय बीभत्स हत्या गरेर फालिएका बेवारिसे शव फेला पर्ने क्रम बढेको छ । शवको पहिचान नै नभएपछि प्रहरीले हत्याबारे छानबिन गर्न र हत्याको कारण पत्ता लगाउन सकेको छैन । बरू, शव कहाँ व्यवस्थापन गर्ने भन्ने प्रहरीको टाउको दुखाइ बनेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको तथ्यांकमा चालू आर्थिक वर्षमा जिल्लामा अस्वाभाविक मृत्यु भएका २८ वटा शवको पहिचान हुन सकेको छैन । त्यसमा २१ पुरुष, ६ महिला र एक बालिका छन् । जिल्लामा सबैभन्दा धेरै शव भेटिने स्थान हो, बुटवल । बुटवल उपमहानगरपालिकामा मात्रै चालू आर्थिक वर्षमा भेटिएका २० वटा शवको पहिचान हुन सकेको छैन ।

 

रूपन्देही प्रहरी प्रमुख केसीले तीनवटा बीभत्स हत्या भएका घटना भएकाले तिनको मात्रै अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए । ‘भारतीय सीमासित जोडिएको जिल्ला भएका कारण भारतीय नागरिक हुन सक्ने र पहिचान नहुने एउटा कारण हो । ‘बढी घनत्व भएका सहरी क्षेत्रमा सडकमा गुजारा गर्ने र परिवारबाट लामो समयदेखि सम्पर्कविहीन हुने व्यक्तिमाथि कुनै घटना भए पनि उनीहरू बेवारिसे बन्छन्,’ प्रहरी प्रमुख केसीले भने । सडकमा मागेर खाने व्यक्ति वा सुस्त मनस्थितिका व्यक्तिको मृत्यु हुँदा शवहरू बेवारिसे हुने र पहिचान गर्न सकस हुने गरेको प्रहरीले दाबी गरेको छ ।

अस्वाभाविक मृत्यु हुने तर शव पहिचान नहुने समस्या देशभरमै बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ यताको चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३ सय ५५ बेवारिसे शव भेटिएका छन् । त्यसमध्ये ६७ जनाको मात्रै सनाखत भएको छ । त्यस्ता शव धेरै महिलाका छन् । सनाखत नहुने पनि महिला नै छन् । तथ्यांक अनुसार पछिल्लो साढे चार वर्षमा २ सय २८ महिलाका बेवारिसे शव भेटिएका छन् । त्यसमा २० वटाको मात्रै सनाखत भएको छ । ४५ पुरुषको बेवारिसे शव भेटिएको छ । उनीहरू सबैको पहिचान भएको छ । १९ बालकको बेवारिसे शव भेटिएकामा एक जनाको पहिचान भएको छ । बालिका २० मध्ये १९ जनाको सनाखत भएको छैन । ४३ मानव कंकाल भेटिएकामा कुनैको पनि पहिचान भएको छैन । प्रहरी अनुसन्धानमा हराएका महिला र बालबालिकाको खोजी गर्नेबारे समाजको बेवास्ताले पनि उनीहरूको अस्वाभाविक मृत्यु हुने तर पहिचान नहुने गरेको उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu