Connect with us
Kapilvast Forest

गाउँपालिका केन्द्र सार्न लागेको विरोधमा तालाबन्दी

२०७६, २ आश्विन बिहीबारमा प्रकाशित

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाको दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।

गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीद्वारा गठित सङ्घर्ष समितिले वडा नंं. ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको हो ।

समितिले त्यहाँस्थित स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो ।

उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिए ।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं.४ र ७ का स्थानीयवासी आन्दोलित भएका हुन् ।उनीहरुले सङ्घर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी दीपकबहादुर धामीले बताए ।गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको धामीको भनाइ छ ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए

सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् ।सङ्घर्ष समितिले तालाबन्दी गरेपछि उक्त क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी चौकी गोकुलेश्वरका प्रहरी हबल्दार नरेशसिंह कुँवरले बताए । रासस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj