Connect with us
Kapilvast Forest

कुण्ठैकुण्ठाको कुण्डमा माधव नेपाल

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं-केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँडेका माधव नेपाललाई आफ्नो ‘हाइट’ कतिसम्म रहेछ भन्ने हिजो मात्रै थाहा भयो होला । एमसीसी सम्झौताबारे अमेरिकालाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाए । यसअघि प्रचण्ड बालुवाटार जाँदा नेपाल पनि सँगै हुन्थे ।

आफू मुख्य दलको शीर्ष नेताभित्रै पर्छु र त्यसमा पनि ओलीको भन्दा बढ्ता महत्त्व आफ्नै छ भन्ने नेपाललाई लाग्थ्यो । तर एमसीसी, स्थानीय चुनाव लगायतका अरू समसामयिक विषयमा हुने छलफलमा माधव नेपालको उपस्थिति आवश्यक छैन भन्ने देउवाले पनि बुझिसके । हुन त माधव नेपाल भएको ठाउँमा ओली आउँदैनन् भनेर हिजोको बैठकमा देउवाले नबोलाएको हुन सक्छ । तर कारण त्यो मात्रै होइन, अहिलेका सबै राजनीतिक घटनाक्रमहरू देउवा, ओली र प्रचण्डकै वरपर घुमिरहेका छन् । यो ‘रिङ’ मा माधव नेपाल नसमेटिँदा पनि फरक पर्दैन । पछिल्लो पटक फेरिँदो घटनाक्रमबाट माधव नेपालले पनि यो कुरा छर्लङ्ग बुझेको हुनुपर्छ ।

माधव नेपाललाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल मान र पद भनेपछि हुरुक्कै हुने नेता हुन् । यसअघि दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष बन्न खोजेकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई यसअघि नै बुझिसकेका हुन् ।

यही लोभ र आशक्तिले उनलाई अस्थिर बनायो । एमालेमा पनि उनी वरिष्ठ नेता नै थिए, माओवादीसँग एकता भएपछि पनि उनी त्यही वरिष्ठ पदमा कायम रहेकै थिए । ओलीका कमी–कमजोरी त पहिले एमालेमा हुँदा पनि देखिएको थियो । खटपट त उतिबेला पनि थियो । ओलीको व्यवहारले प्रचण्डलाई जस्तै नेपाललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो ।

यसअघि १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि एमालेलाई बलियो बनाउन नसकेको आरोप नेपालको टाउकोमा छँदै थियो । त्यसको अन्तिम रूप २०६४ सालको चुनावको नतिजाले पनि देखाएकै हो । पार्टीलाई उकास्न सकिएन भनेर उनले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए । त्यतिबेला उनले पार्टी नेता, कार्यकर्ताबाट टन्नै सहानुभूति पनि पाएका थिए । तर त्यो नैतिकता र सहानुभूतिलाई उनले टिकाउन सकेनन् । उनको समर्थनमा रहेका नेता, कार्यकर्ताले बिस्तारै छाड्न थाले । पार्टीभित्र सधैँ कचकच गरिरहने, आफ्नै समूहमा रहेका कार्यकर्ता र तल्लो तहका नेतालाई नचिन्ने, छुद्र वचन लाएर कार्यकर्तालाई चिढ्याउने, विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने नेता भनेर उनीमाथि आरोप लागिरहेकै हो । ‘होली वाइन’ प्रकरणले त उनलाई झन् तल गिरायो ।

एमालेभित्रै बसेर आफ्नो ‘हाइट’ बढाउने अवसर हुँदाहुँदै पनि उनले अध्यक्ष बन्नकै लागि अर्को पार्टी खोले । कांग्रेस र माओवादीले टेको छाड्नेबित्तिकै आफू उभिएको ठाउँ परालको कुन्यु झैँ गर्ल्यामगुर्लुम ढल्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । त्यसैले गठबन्धनमा देउवाले भाउ दिन छाडे पनि कुण्ठा पोख्नुबाहेक अब नेपालसित विकल्पहरू सकिँदै गएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu