Connect with us
Kapilvast Forest

ठगी आरोपमा अधिवक्ता पक्राउ

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

pakrauu

 

पोखरा- मुद्दा जिताइदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखराका अधिवक्ता कमल अर्याल पक्राउ परेका छन्। कास्की प्रहरीले आफूकहाँ परेको उजुरीको आधारमा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अर्याललाई नियन्त्रणमा लिएको हो।

 

बार एसोसिएसन कास्कीका पूर्वअध्यक्षसमेत रहेका अर्याललाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले पुष्टि गरे। थप अनुसन्धान अघि बढाएको जानकारी पनि तिवारीले दिएका छन्।

कास्की घान्द्रुकका व्यक्तिको भैंसी हराएको सम्बन्धी मुद्दा न्यायाधीशसँगको सेटिङमा जिताइदिन्छु भन्दै अधिवक्ता अर्यालले ठगी गरेको उजुरी कास्की प्रहरीमा परेको थियो। सोमबार परियारले उजुरी दिएका हुन्। मुद्दाको फैसला आएपछि अर्यालले जिताइदिएँ भन्दै ५ हजार रुपैयाँ लिएको उजुरीमा छ। सुरुमै सेवा शुल्क भनेर ५ हजार रुपैयाँ अर्यालले लिएका थिए।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० का रामबहादुर परियारले अधिवक्ता अर्याल विरुद्ध उजुरी दिएका थिए। अर्यालले मुद्दा जितियो भनेकोमा फैसलाको पूर्णपाठ आउँदा हारेको थाहा पाएपछि परियारले ठगीमा उजुरी गरेका हुन्। फैसलाको पूर्णपाठको फोटोकपी शुल्कमात्रै लिनुपर्ने राजस्व २ हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै मागेका थिए।
परियारले आफ्नो भैंसी दाङसिङको एउटा फर्ममा पुगेको भन्दै लगेका थिए। तर फर्मधनीले फिर्ता लगेपछि अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरे। त्यहाँ मुद्दा हारेपछि उनी जिल्ला अदालत आइपुगेका हुन्।

पोहोर जेठमा भैंसीका दुईवटा पाडा लेकको गोठमा छाडेकामा हराएको र ती पछि दाङसिङको एउटा फर्ममा भेटिएको परियारको दाबी छ। तर फर्मधनीले ती भैंसी परियारको नभई आफनै भएको भनी फिर्ता लगेका थिए। त्यसपछि परियारले फर्म सञ्चालकविरुद्ध न्यायिक समितिमा उजुरी गरे। समितिको फैसला उनको विपक्षमा आएपछि अदालत गुहार्न आइपुगेका हुन्। कास्की अदालतमा एक महिनाअघि उनी उक्त मुद्दा हारे। हारेको मुद्दा पनि जितेको भन्दै वकिल अर्यालले पैसा असुलेपछि रामबहादुर परियार उजुरी लिएर प्रहरीकहाँ पुगे।

उजुरीसहितका प्रमाण पुग्ने कागजातका आधारमा अर्याललाई पक्रने अनुमति पुर्जी अदालतले दिएको थियो। ठगी, आपराधिक विश्वासघात तथा लाभ कसूरमा अधिवक्ता अर्याललाई पक्रन अदालतले प्रहरीलाई अनुमति दिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को ३ बमोजिम पक्राउका लागि अनुमति पाउन सम्बन्धित काजगत सक्कलैसहित प्रहरी अदालत पुगेको थियो। त्यसै अनुसार अदालतले अनुमति दिएपछि अर्याललाई नियन्त्रणमा लिई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu