नेपालमा पहिलो पटकमै लिग च्याम्पियन बन्दा खुशी छु : नुर्लान
काठमाडौं – मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई बुधबार १-० ले हराएपछि लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जितेको छ ।
मछिन्द्रले यसपटक दुई खेलअघि नै च्याम्पियन बन्ने अवसर पायो । बी डिभिजन च्याम्पियन बनेर पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोविरुद्ध मछिन्द्रका लागि अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।
नुर्लानले ५३औं मिनेटमा गरेको गोल नै मछिन्द्रकालाई खेल जिताउन पर्याप्त बन्यो ।
पहिलो पटक नेपालमा ए डिभिजन लिग खेलिरहेका नुर्लान लिग च्याम्पियन बन्न पाउँदा खुशी व्यक्त गरे । ‘म एकदमै खुशी छु । हामी च्याम्पियन बन्दै ट्रफी जित्न सफल भयौं । मैले नेपालमा पहिलो पटक ए डिभिजन लिग खेलेको हो । च्याम्पियन बन्दा सुपर ह्याप्पी छु’ नुर्लानले अनलाइन कुराकानीमा भने, ‘हामीले टिमको रुपमा राम्रो र रमाइलो समय बितायौं । मेरो विचारमा हामीले मछिन्द्र एफसी परिवारको रुपमा राम्रो गर्यौं भन्ने लाग्छ ।’