काठमाडौंवासीलाई समयमै मेलम्ची खानेपानी उपलब्ध गराइन्छ : मन्त्री चाैधरी
काठमाडौं – खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाण्डाै उपत्यकामा भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाण्डाैवासीलाई उपलब्ध गराउने गरी मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबीसमेत गर्नुभयो ।
नेपाल खानेपानी संस्थानको ३३ औँ वार्षिकोत्सवको अवसर पारेर आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाढी र पहिरोको कारण क्षति पुगेको मेलम्ची खानेपानी आवश्यक व्यवस्था मिलाएर काठमाण्डाैवासीलाई उपलब्ध गराउन राष्ट्रको नाममै सम्बोधन गरेको स्मरण गराउँदै काममा ढिलाइ बताउनुभयाे ।
मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने घोषणासमेत गर्नुभयो । केही वर्षदेखि याे आयोग रिक्त रहेको उल्लेख गर्दै उहाँले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।
मन्त्री चौधरीले याे आयोग अन्तर्गत रहेर सरकारले आमनागरिकलाई अझै सर्वसुलभ ढङ्गले खानेपानीको व्यवस्था गर्न लागेको पनि बताउनुभयो ।
मन्त्री चौधरीले ‘एक घर, एक घारा’ कार्यक्रमको सेवा विस्तार गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । अहिले याे सेवा देशका विभिन्न २३ सहरमा सञ्चालनमा आएको छ । त्यसलाई देशभर विस्तार गर्न मन्त्री चौधरीले नेपाल खानेपानी संस्थान, खानेपानी विभागलाई निर्देशन दिनुभयो ।