खानेपानीलाई २ अर्ब सहयोग
काठमाडौं – जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर गर्नु भएको हो ।
परियोजना कार्यान्वयनका लागि भएको अर्को अनुदान सम्झौतामा जाइका नेपालका प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयका आर्थिक सहयोग तथा समन्वय महाशाखा सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गर्नु भएको हो । यो परियोजनाले विराटनगरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। ‘अहिले विराटनगरवासीले खानेपानीका लागि कमसल इनारमा भर पर्नु परेको छ। सुरक्षित पिउने पानी अभावले प्रभावित भएका छन्।
यो परियोजनाले त्यसलाई सुधार गर्न मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ। नयाँ गहिरा इनार र पानी निर्माण गरेर एक लाख जनताका लागि स्थायी रूपमा सफा पानीको सुविधा प्रदान गर्न खोजिएको जापानी दूतावासले जनाएको छ।
राजदूत किकुताले नेपालीको जीवनस्तर उकास्न जापानले बहुआयामिक सहयोग गर्दै आएको बताउनु भयो । ‘कोभिड—१९ महामारीका समयमा जापानले समयमै खोपसहित धेरै सहयोग विस्तार गर्यो। अन्य आर्थिक सहयोग पनि गरेको छ,’ उहाँले भन्नु भया ।