उद्योगी जाजु बने यो वर्षको ‘महामुर्ख’
विराटनगरका उद्योगी महेश जाजुलाई ‘महामुर्ख’ उपाधिले सम्मान गरिएको छ। होली पर्वको पूर्वसन्ध्यामा मारवाडी युवा मञ्चले मंगलबार राति एक कार्यक्रमका बीच ‘महामुर्ख’ उपाधि दिएको हो।
invotech
होली मिलन कार्यक्रमको आयोजना गरी जाजुलाई महामुर्ख उपाधि दिइएको मारवाडी युवा मञ्चले जनाएको छ। मारवाडी समुदायमा होली पर्वको बेला समाजमा योगदान गरेका व्यक्तिलाई हरेक वर्ष महामुर्ख उपाधि दिइने गरिन्छ।
मारवाडी समुदायमा यसलाई ठूलो सम्मानको रूपमा लिइन्छ। रमाइलोको रूपमा पनि लिइने गरिएको उद्योगी चम्पालाल राठीले बताए।
गत वर्ष यो उपाधि पाएका राठीले जाजुलाई उपाधि हस्तान्तरण गरेका थिए।
‘एक पटक पाएपछि एक वर्षसम्म उपाधि कायम रहन्छ,’ राठी भन्छन्। मिथिला नगरीमा पनि ‘महामुर्ख’ उपाधि दिइने गरिएको छ।
‘महामुर्ख’ उपाधि दिँदा बजारमा पाइने सस्तो खालको तरकारीको माला र हिरोइनको फोटो उल्लेखित ताज पहिरिने चलन छ।