वैदेशिक रोजगारीमा ठगी , मेनपावरले नक्कली एजेन्ट बनाएर युवासँग पैसा असुल्दै
काठमाडौ । वैदेशिक रोजगारीका क्रममा विगत ८ महिनामा लगभग २३ करोड रुपैयाँ बराबरको व्यक्तिगत ठगी अभियोगका उजुरी परेको छ ।
वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्षको फागुनसम्ममा चार सय उजुरीमा २३ करोड २२ लाख ४५ हजार १ सय ६० रुपैयाँ ठगिएको भन्दै उजुरी परेको जनाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा दाबी रकम सामान्य वृद्धि भए पनि पनि उजुरी संख्या भने १ सय १४ वटाभन्दा बढी रहेको विभागले जनाएको छ । गत वर्ष ठगिएको जनाउँदै २ सय ५० वटा उजुरी परेकोमा चालू आवमा सो बढेर चार सय पुगेको विभागका निर्देशक विनोद पौडेलले जानकारी दिए ।
चालू आवको आठ महिनामध्ये असोजबाट व्यक्तिगत ठगीका उजुरी बढेको पाइएको छ ।फागुनसम्म २३ करोड रुपैयाँको दाबी गर्दै उजुरी परेका ४५ वटा मुद्दा अदालतमा दायर भएकोमा अदालतले ६५ करोड ८५ लाख ८ हजार ६ सय ८७ रुपैयाँ बराबर बिगो दाबी कायम गरेको छ ।
यो अवधिमा ७३ उजुरीमा मिलापत्र हुँदा ४५ करोड ९५ लाख ५१ हजार ६ सय ९५ युवाले पैसा फिर्ता पाएका छन् । विभागले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा मन्दी आए पनि यसको नाममा हुने व्यक्तिगत ठगी भने बढेको जनाएको छ ।सरकारले अधिकतम १० हजार रुपैयाँमात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्ने शैली अपनाएपछि व्यक्तिगत ठगी बढेको कारोबारमा समाचार छ।
श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसर बनाउँदै व्यक्तिगत रूपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रूपमा हुन थालेको छ ।
व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगीमा कमी आएको छैन ।