संविधान गौरवपूर्ण उपलब्धि, यसको रक्षा गर्नुपर्छ:पूर्व राष्ट्रपति यादव
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट संविधान जारी हुनु गौरवको विषय भएको भन्दै नेतृत्वमा रहेका दललाई कार्यान्वयनमा प्रतिवद्ध हुन आग्रह गर्नुभएको छ ।
पूर्व राष्ट्रपति यादवले शनिबार पूर्व सभासद् प्रेमबहादुर सिंहको ‘संविधान निर्माण घटना र अनुभूति’ पुस्तक बिमोचन गर्दै गौरवपूर्ण उपलब्धि रक्षाका लागि सबैले योगदान पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।
‘संविधान २०६२/६३ को जनआन्दोलनको उपलब्धि मात्रै नभई ७ दशक देखिको जनताको लगानीको प्रतिफल हो’ उहाँले भन्नुभयो, ‘संविधानले विभिन्न जात, जाति धर्म र संस्कृतिसहितको विविधता युक्त समाज परिकल्पना गरेको छ । त्यो जनताको चाहना हो, जनताको त्यो चाहना पूरा हुनुपर्छ ।’
संविधानसभाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानप्रति देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि सरकारले प्रयास गरिरहेको स्पष्ट पार्नुभयो । ‘वश्वमा असन्तुष्टि नभएको कुन संविधान छ ?’ उहाँले भन्नुभयो, ‘हामी असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रयास गरिरहेका छौं । यसतर्फ हामी प्रयासरत रहनुपर्छ ।’
नेता नेम्वाङले संविधानप्रति असन्तुष्ट जनाएका र वहिष्कार गरेका दल पनि संविधान कार्यान्वयनको प्रक्रियामा समेटिनुलाई संविधान कार्यान्वयको सफलता भएको टिप्पणी गर्नुभयो ।