Connect with us
Kapilvast Forest

विजयनगरमा बिजोग, काम बिनै भुक्तानी

२०७६, ८ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु भाद्र ८,
कपिलवस्तु — विजयनगर गाउँपालिका ५ जुगुनिया–वीरनगरसम्मको सडक स्तरोन्नतिको काम कागजमा पूरा भइसक्यो । काम सकेर ठेकेदारले गत असारमै भुक्तानी पनि बुझिसके । तर फिल्डमा भने काम अझै अधुरै छ, जारी छ ।

सबै भुक्तानी लिएको एक महिनापछिसम्म काम पूरा नभएपछि स्थानीयले विरोध जनाएका छन् । स्तरोन्नतिको काम गुणस्तरहीन भएको पनि उनीहरूको आरोप छ । गत वर्ष जुगुनियादेखि वीरनगरसम्म करिब ५ किमि ग्राभेल सडक स्तरोन्नति र ६ वटा कल्भर्ट निर्माणका लागि ठेक्का लगाइएको थियो ।

जुगुनियादेखि बाघमारासम्म करिब १ किमि र नौरंगियादेखि वीरनगरसम्मको १ किमि सडकमा कुनै काम भएको छैन । बाँकी ३ किमिमा ८/१० ट्रली मिस्कट छरिएको छ । ‘ल हेर्नुस् गाउँको सिंहदरबारले गरेको काम,’ स्थानीय गोवर्द्धन यादवले डालपुर चोकमा स्तरोन्नतिका नाममा खसालेको बालुवा देखाउँदै भने । अहिलेका जनप्रतिनिधि कमाउन आएको उनको आरोप छ ।यस्तै कारणले विकास वर्षौं पछाडि धकेलिने उनले बताए । सडकका ठाउँठाउँमा बालुवा छरिएको छ । सडकको अवस्थामा कुनै सुधार छैन । ‘जस्तो पहिला थियो, अहिले पनि उस्तै छ,’ स्थानीय पूर्णप्रसाद न्यौपानेले भने, ‘पूजाको प्रसाद जस्तो मिस्कट छरेर झारा टारे ।’ ठेकेदारले गाउँपालिकाबाट २३ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिएको देखिन्छ ।

स्थानीयका अनुसार यहाँ ८/१० लाख रुपैयाँको काम भएको देखिन्न । अहिले यो सडक हिलाम्मे छ । यही सडकमा अघिल्लो आवमा पनि ७ लाख रुपैयाँ खर्चिइएको थियो । सडकमा अहिले ६ ह्युमपाइपका कल्भर्ट निर्माण गरिएको छ । त्यसमा प्लास्टर गरिएको छैन ।

गाउँपालिकाले गत असारमै काम पूरा भएको जनाउँदै भुक्तानी दिएको थियो । स्थानीयले विरोध जनाएपछि साउन अन्तिमसम्म ठाउँठाउँमा १/२ ट्रली बालुवा र मिस्टक खसालेर रोलिङको काम गरेको स्थानीय राजेन्द्र यादवले बताए । ‘झारा टार्ने काम मात्र भएको छ,’ उनले भने, ‘सडक स्तरोन्नति भनेर बजेट विनियोजन गरेकोबारे स्थानीयलाई जानकारी छैन ।’ योजनाबारे उल्लेख गरिएको बोर्ड कतै पनि छैन । ‘गाउँपालिकामा सोध्न जाँदा पनि कसैले केही बताएनन्,’ उनले भने, ‘नियोजित रूपमै अनियमितता गर्न खोजेको प्रस्ट हुन्छ ।’

सडक स्तरोन्नति र कल्भर्ट निर्माणका लागि ५० लाख रुपैयाँ बजेट थियो । योसहित तीनवटा योजनाको ठेक्का एकीकृत रूपमा लगाइएको थियो । गत आर्थिक वर्षमा जुगुनिया–वीरनगर सडक ५० लाख, त्रिपालनगर–बद्ददौर सडक ५० लाख र लोहरौला–सुरइपुल सडक स्तरोन्नतिका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

तीनवटै सडकको स्तरोन्नतिका लागि एकीकृत रूपमा १ करोड ३० लाख रुपैयाँको ठेक्का आहवान गरिएको थियो । अमर निर्माण सेवाले भ्याटसहित ८० लाख २४ हजार २ सय २४ रुपैयाँ ठेक्का सकारेको थियो । ०७५ चैत २६ मा भएको सम्झौताअनुसार ०७६ जेठ मसान्तसम्म सक्नुपर्ने समयसीमा तोकिएको थियो । काम पूरा नभएपछि एक महिना म्याद थप गरियो । असारमा काम नसकिँदै भुक्तानी दिइयो ।

तीन योजनाको गरेर ठेकेदारले ६२ लाख रुपैयाँ भुक्तानी बुझिसकेका छन् । जसमध्ये जुगुनिया–वीरनगर सडकको मात्र २३ लाख रकम भुक्तानी भइसकेको छ । अन्य योजनाको काम पनि कमसल भएको स्थानीयले बताए । असार मसान्तसम्म काम पूरा नहुँदै भुक्तानीका लागि योजनाको मूल्यांकन गरेर सिफारिस गरिएको गाउँपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले स्विकारे । ‘मैले रोक्न कोसिस गरेको थिएँ,’ उनले भने, ‘तर सकिनँ ।’ असारमा काम सकिएको कागजात तयार गरेर भुक्तानी लिएको उनले बताए । ‘तर काम साउन मसान्तमा सकियो,’ उनले भने ।

अमर निर्माण सेवाका स्थानीय प्रतिनिधि रामशरण यादवले साउन मसान्तमा सडक ग्राभेल गरी रोलिङको काम सम्पन्न भएको बताए । असारको चटारोका कारण योजना सम्पन्न नहुँदै भुक्तानी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीको भनाइ छ । ‘गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले अनुगमन गरेपछि मात्र रकम भुक्तानी दिइएको हो,’उनले भने, ‘तर काम साउन मसान्तमा मात्र सकियो ।’ कान्तिपुरवाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu