नेपाल सोमबार खुला दिसामुक्त हुँदै
काठमाडौं । ‘नेपाललाई आउँदो सोमबार खुला दिसामुक्त राष्ट्र’ घोषणा गरिने भएको छ । खानेपानी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी असोज १३ गते काठमाडौंमा विशेष कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको छ ।
खानेपानी मन्त्री विना मगरले सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अभियान सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई अपील गर्नुभएकाे छ ।
सरकारले सन् २०११ बाट खुला दिसामुक्त अभियान शुरु गरेको हो । कास्कीलाई सबै भन्दा पहिर्ला खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । अभियान विभिन्न स्कुल , स्थानीय तह हुँदै जिल्लासम्म अघि बढाइएको मन्त्री मगरले स्मरण गराउनुभयो ।
राजनीतिक दलको साथै विभिन्न पेशामा आवद्ध सबैको सक्रियतामा खुला दिसामुक्त घोषणा अभियान सफल भएको मन्त्रीको भनाई छ । मुलुकलाई खुला दिसामुक्त पारेपछि सरसफाई अभियानमा तीब्रता दिने सरकारको योजना छ ।