Connect with us
Kapilvast Forest

विषालु सर्पले दुई सय पटक टोक्यो, तरपनि जिउँदा छन् यी व्यक्ति

२०७६, १२ आश्विन आईतवारमा प्रकाशित

हरेक पाँच मिनेटमा संसारका कुनै न कुनै कुनामा एक व्यक्तिको मृत्यु सर्पले डसेका कारण हुन्छ जबकी चार अन्य व्यक्ति स्थायी रुपमा अपाङ्ग हुन्छन् ।

तर संसारमा यस्ता व्यक्ति पछि छन् जसले सर्पसँग जोखिमयुक्त प्रयोग गरिरहेका छन् । अमेरिकाको विसकोन्सिन प्रान्तमा बस्ने टिम फ्रिडे यस्तै एक व्यक्ति हुन् जो विषालु सर्पलाई डस्न लगाउँछन् र त्यसको भिडियो युट्युबमा अपलोड गर्छन् ।

यस्तै, एउटा भिडियोमा माम्बा सर्पले उनलाई दुईपटक डस्छ र उनी क्यामरासँग कुरा गरिरहेका छन्, उनको हातबाट रगत निस्किरहेको छ तर उनी केही वास्ता नै नगरिरहेको देखिन्छन् ।

उनी भनिरहेका छन्, ‘ब्ल्याक माम्बाले डसेपछि तपाईंलाई तत्काल पीडाको महसुस भइहाल्छ । यस्तो लाग्छ कि हज्जारौं माहुरीले टोकेका छन् । माहुरीमा एक वा दुई मिलिग्राम विष हुन्छ तर माम्बा सर्पले एक पटक डस्दा ३०० देखि ५०० मिलिग्राम विष हुन्छ ।’

त्यसपछि के भएको थियो यसबारे टिमले बीबीसीलाई भने, ‘मेरो हात सुन्निरहेको थियो । त्यसको केही दिनसम्म यसको असर रह्यो । पाखुरा जति सुन्निएको थियो त्यसबाट अन्दाज लगाउन सकिन्थ्यो कि कति विष मेरो शरीरमा प्रवेश गरेको छ । यो निकै पीडादायी थियो ।’

उनले जसरी पीडाबारे बयान गरिरहेको त्यो पीडा अहिलेसम्म पनि महसुस गरिरहेको जस्तो उनी देखिन्थे ।

खतरनाक र अनैतिकः

टिम फ्रिडेका युट्युब प्रशंसक उनको काम देखेर चकित पर्छन् तर हरेकले उनलाई सही दृष्टिकोणले हेर्दैनन् ।

लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका डा. स्टुअर्ट एन्सवर्थ भन्छन्, ‘यी मानिसहरु के गर्छन्, मलाई यसबारे केही जानकारी छैन । तर यो खतरनाक हो र अनैतिक पनि । हामीहरु यस्ता मानिससँग काम गर्दैनौं ।’

लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिन ती संस्थामा समावेश छन् जो नयाँ प्रकारका हरेक स्थितीमा काम लाग्ने विषनाशक औषधी विकसितका लागि काम गरिरहेका छन् ।

साधारणतया यस्ता नयाँ औषधीको प्रयोग सुरुमा मुसामाथि गरिन्छ र त्यसपछि अन्य जनावरमाथि यो अपनाइन्छ । यदि यी दुई प्रयोगपछि त्यो सुरक्षित पाइए तब यसको प्रयोग नियन्त्रित परिस्थितीमा मानिसमाथि गरिन्छ ।

डा. एन्सवर्थ भन्छन्, ‘मानिसहरु आफैंमा प्रतिरोधी क्षमता विकसित गर्न थालेका छन् किनभने अहिलेसम्म यो दिशामा कानूनी प्रावधान छैन । तर यस्ता प्रयोगको क्रममा मृत्युको खतरा हुन्छ । यस्तो कसैले पनि गर्नु हुँदैन ।’

संसारभरीका फर्मास्युटिकल क्षेत्रमा विषनाशक औषधीको अनुसन्धानका लागि कुनै गाइडलाइन छैन । नयाँ औषधीको खोजका लागि वैज्ञानिक तौर तरिकाको प्रचार–प्रसारका लागि काम गर्ने ब्रिटेनस्थित वेलकम ट्रस्ट भन्छ, ‘उत्पादन, सुरक्षा र त्यसको प्रभावको आँकलन गर्नका लागि एक समान मानक निर्धारित छैन ।’

कति जोखिम छ ?

सोसल मिडियामा आफ्नो फ्यान फलोविङ बढाउनका लागि फ्रिडेले आफ्नो ज्यान जोखिममा पारिरहेको भन्ने आरोप अस्विकार गर्छन् ।

उनी भन्छन्, ‘म यस्तो युट्युब भिडियो बनाउनका लागि गर्दिनँ । म मानिसहरुको जीवन बचाउन चाहन्छु र एउटा परिवर्तन ल्याउन चाहन्छु । म युट्युबमार्फत् डाक्टरको खोजी गर्न सक्छु जोसँग म काम गर्छु । यो जुवा खेल्नेजस्तो थियो तर यो सफल रह्यो ।’

सर्पका करिब तीन हजार प्रजाति हुन्छन् जसमध्ये दुई सय सर्प मात्रै विषालु हुन्छन् । उनीहरुले टोके व्यक्तिको मृत्यु हुनसक्छ वा व्यक्ति अपाङ्ग हुनसक्छ । यीमध्ये थुप्रै प्रजातिका सर्पलाई फ्रिडेले राम्रोसँग चिन्छन् ।

चाहे त्यो कोब्रा होस् वा वाइपर होस् वा माम्बा । उनलाई पछिल्लो २० वर्षमा दुई सयभन्दा बढी पटक सर्पले डसेका छन् । यसबाहेक उनले सातसय बढी पटक आफैंलाई विषको इन्जेक्सन लगाएका छन् ।

सर्पले एक पटक डस्दा तपाईंको शरीरमा प्रवेश हुने विषको मात्रा निश्चित हुँदैन । कतिपटक सर्पले टोकेपछि विष छोड्दैनन् त्यसकारण विषको मात्रा सेवन गर्नका लागि आफूलाई इजेक्सन लगाउनु पर्छ ।

फ्रिडे भन्छन्, ‘यदि ब्ल्याक माम्बाको विषका लागि तपाईंको शरीर पूर्ण रुपमा प्रतिरोधी छैन भने यसले स्नायू प्रणालीको बाहिरी हिस्सालाई प्रभावित गर्छ । अर्थात् यसमा फेक्सोले राम्रोसँग काम गर्न सक्दैन । तपाईं सास फेर्न सक्नुहुन्नँ । तपाईंको आँखा बन्द हुन थाल्छ, तपाईं कुराकानी गर्न सक्नुहुन्नँ । तपाईं बिस्तारै होस गुमाउन थाल्नुहुन्छ । शरीरको अंग शून्य हुनथाल्छ । तर तपाईंको मुख्य स्नायू प्रणाली प्रभावित हुन सक्दैन अर्थात् तपाईं सोच्न सक्नुहुन्छ जबसम्म तपाईंको मृत्यु हुँदैन ।’

कोब्राले टोक्दाः

फ्रिडेले आफ्नो घर पछाडि थुप्रै विषालु सर्प पालेका छन् र त्यसको विषको प्रयोग आफूमाथि गर्छन् । उनी भन्छन्, ‘मसँग अफ्रिकामा पाइने वाटर कोब्रा हो । यसले टोक्दा अत्यधिक पीडा हुन्छ । निकै गाह्रो हुन्छ । निकै भयानक अनुभव हुन्छ ।’

वाटर कोब्राको विषमा न्यूरोटक्सिन हुन्छ जसले नर्भ सेललाई प्रभावित पार्छ । यस्तै, अन्य कोब्राको विषमा सायटोटकिसन हन्छ जसले प्रभावित हिस्सा गल्ने आशंका पनि हुन्छ । यस्तै विषय अमेरिकी वाइपर सर्पमा पनि हुन्छ । यो विषमा थुप्रै पटक औंला वा हात नै कुहिने हुन्छ ।

विषको लगातार कम डोज लिइराख्दा तपाईंको शरीरमा विषको प्रतिरोधी क्षमता तयार हुन्छ । फ्रिडे यही सिद्धान्तमा काम गरिरहेका छन् तर यो विधिको आलोचना पनि अत्यधिक हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu