Connect with us
Kapilvast Forest

आधुनिक शिक्षामा आईसीटीको प्रयोग अपरिहार्य

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

चन्द्रौटा(कपिलवस्तु), १४ भदौ । शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षण सिकाइमा आई.सी.टी. विधिको प्रयोग अपरिहार्य रहेको प्राध्यापक डा. विद्यानाथ कोइरालाले बताएका छन् ।

आजका बालबालिका प्रविधिसँगै खेलिरहेकाले आधुनिक शिक्षामा आई.सी.टी. प्रविधिको प्रयोगबाट शिक्षण क्रियाकलाप अपनाउनुपर्ने सुझाव दिएका हुन् । कपिलवस्तुको शिवराज १ स्थित नेपाल आदर्श माविद्वारा आयोजित अन्तरक्रियात्मक शैक्षिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक डा. कोइरालाले विद्यार्थीको रुची र क्षमताको आधारमा बर्गीकरण गरी पूर्खाको ज्ञानलाई विषयवस्तुसँग जोडेर शिक्षण विधि अपनाउनुपर्ने बताए । परम्परागत शिक्षण पद्धतिलाई परिवर्तन गर्दै विद्यार्थीको स्वच्छन्द सिकाइसँग जोडेर शिक्षण विधि अपनाउँदा शैक्षिक गुणस्तरमा सुधार आउने दाबी गरे ।

बालबालिकाको जिज्ञासालाई संकलन गरी योजना बनाई व्यवहारमा लागू गर्नुपर्ने उनको जोड थियो । डा. कोइरालाले भने –“हिजोका विद्यार्थीले किताब पढ्थे, अहिलेको विद्यार्थीले मोबाइल पढ्छन् । यसलाई योजनामा राखेर शिक्षण विधि अपनाउनुस् । विद्यार्थी कता जान्छ, उतै उतै पछ्याउँदै शिक्षण विधि अपनाएमा शिक्षामा सुधार आउँछ ।” विद्यार्थीको आँखामा शिक्षक भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै शिक्षकले शिक्षण प्रक्रिया अपनाएमा शिक्षमा आमूल परिवर्तन आउने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले ‘सिकाउ, विकाउ र टिकाउ’ लाई मूलमन्त्र बनाई शिक्षण प्रक्रिया अपनाउँदा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सकिने विश्वास व्यक्त गरे । आफ्नो वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन आफ्नोतर्फबाट हरप्रयास गर्ने प्रतिबद्धता जाहेर गरे ।

शिवराज नगरपालिका शिक्षा अधिकृत पूर्णबहादुर विश्वकर्माले बालबालिकालाई सुसंस्कृत र जीवनोपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए । उनले हरेक बालबालिकाको व्यक्तिगत समस्यालाई पहिचान गरी शैक्षिक वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए । शिक्षकले विद्यार्थीको आत्मबल बढाउने खालको योजना बनाई शैक्षिक क्रियाकलाप अपनाउँदा शिक्षामा सुधार आउने विश्वास व्यक्त गरे ।

यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालाराम बुढा मगरले शैक्षिक खाका र संरचनागत खाका तयार नभई शैक्षिक गुणस्तरमा सुधार नआउने धारणा राखे । यसका लागि विद्यालय प्रशासन, शिक्षक र समितिको उत्तिकै भूमिका रहने बताए । विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सूक्ष्म योजना बनाई अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । प्रधानाध्यापक पोख्रेलले विद्यालयको गतिविधिका साथै शिक्षण सिकाइलाई नमूना बनाउन सोही अनुसार सबैसँग हातेमालो गरी अघि बढ्ने विश्वास व्यक्त गरे । अन्तरक्रियात्मक शैक्षिक प्रशिक्षणमा विद्यालयका सम्पूर्ण शिक्षक तथा यस विद्यालयको सेवाक्षेत्रभित्र पर्ने विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu