सरकारले ढाँटेपछि उखु किसान अन्दोलित
सनिउल्ला धोबी
कपिलवस्तु भद्रा १८ । सरकारले उखु किसानलाई अनुदान रकम दिने वचन पूरा नगरेपछि किसानले आन्दोलन गरेका छन् । पाँच वर्ष बितिसक्दा पनि रकम नपाएपछि किसानले बुधबार आन्दोल गरेका हुन् । आन्दोलनका क्रममा पूर्व–पश्चिम राजमार्ग बन्द भएको थियो ।
सरकारले दुई करोड ५० लाख रकम दिने वचन दिएको थियो । दुई हप्ताअघि इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत् सरकारको ध्यानार्कषण गरेका किसानले अनुदानको रकम नपाएपछि पुनः आन्दोलन गर्ने जानकारीसहितको ज्ञापन पत्र बुझाएका थिए ।
करिब दुई घण्टा ठप्प भएको पूर्व–पश्चिम राजमार्गमा प्रहरीले बल प्रयोग गरेको किसान संघ कपिलवस्तुले जनाएको छ । किसानको आन्दोलनमाथि सरकारले बल प्रयोग गरेको भन्दै किसानले नाराबाजी गरेको किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।
सरकारले आर्थिक वर्ष ०७१/०७२ मा उखु किसानलाई प्रति क्विन्टल रु. २५ का दरले दिने भनिएको अनुदान रकम जिल्लाका पश्चिम क्षेत्रका किसानले हालसम्म नपाएको किसान कपिलवस्तुका अध्यक्ष अनुपकुमार चौधरीले बताए । ‘हामीले पटक–पटक सरकारको ध्यानार्कषण गराउँदै आएको भएपनि सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम दिएको छैन । त्यसैले बाध्य भएर सडकमा आउनुपर्यो’, चौधरीले भने ।
जिल्लामा सात हजार उखु कृृषकले अनुदानको रकम नपाएको कृषक कृष्ण आचार्यले बताए । ‘अन्य जिल्लाका उखु किसानले सोही आर्थिक वर्षमा नै अनुदान रकम पाएको भएपनि कपिलवस्तुका किसानले पाँच वर्ष बित्दा पनि रकम पाएनौं, आचार्यले भने, ‘त्यसैले सडक बन्द गरेपछि सरकाले हाम्रो आवाज सुन्छ कि ?’
किसानले जिल्लाको महालक्ष्मी सुगर मिललाई उखु बिक्री गरेका थिए । सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य चार सय ६१ दिने घोषणा गरको थियो ।
मिल सञ्चालकले प्रतिक्विन्टल चार सय ३६ मात्र दिए । सरकारले २५ रुपैयाँ उखु किसानलाई अनुदान दिने वाचा गरेको थियो । सरकारले दिने अनुदाने रकम समयमा नै नदिंदा किसान हरेक वर्ष आन्दोलित हुनु परेको संघका अध्यक्ष चौधरीले बताए ।
२०७३ असोजबाट आन्दोलन गर्दै आएका किसानले हरेक वर्ष आन्दोलन गर्दै आएका छन् । कृषि मन्त्रालयमा धाउँदासमेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम गरेको शिवराज नगरपालिका मोतिनगरका रामकिशोर चौधरीले बताए ।
‘गत वर्षको साउनमा इलाका प्रशासन चन्दौटा अगाडि किसान अनशनमा बसेपछि सम्पूर्ण कागजात मिलाएर अर्थमा बुझाउन भनियो । कागजात बुझायौं तर रकम निकाशा भएन,’अध्यक्ष चौधरीले भने, ‘पुनः मंसिर १९ गते अनशन बस्दा एक हप्तामा अनुदानको रकम उपलब्ध गराउन गृहमन्त्रालयबाट अर्थलाई पत्राचार भएको थियो । जिल्ला प्रशासनले पनि कृषि तथा शहरी मन्त्रालयलाई पत्राचार गरेको भएपनि अनुदानको रकम भने आएन ।’
‘गृह मन्त्रालयले गत मंसिरमा अर्थलाई भुक्तानीको लागि पत्राचार गरेको थियो, चौधरीले थपे, ‘अर्थ मन्त्रालयले किसानको तथ्यांक उपलब्ध गराउन भन्दै आन्तरिक राजश्व विभागमा पत्रचार गरेपछि किसानले सम्पूर्ण तथ्याङ्क आन्तरिक राजश्व विभागलाई बुझाएको थियो । गत वर्ष अनुदानको रकम आउँछ भन्नेमा हामी किसान ढुक्क थियौं, तर आएन’।
प्रहरीले राजमार्ग बन्द नगरी आन्दोलन गर्न किसानलाई आग्रह गरेको वडा प्रहरी कार्यालयका प्रमुख मोतिलाल योन्जनले बताए ।