हुरीपीडितलाई सरकारले दियो घर
काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले बिहीबार राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका विभिन्न बिषयमा प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् ।
गोरखापत्र दैनिकले ८६९ हुरीपीडितलाई सरकारले दियो घर शीर्षकमा प्रमुख समाचार छापेको छ । बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापसिनाबाट आवासविहिन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । समाचारमा उल्लेख भए अनुसार प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो समयमा आवास प्राप्त गरेको यो पहिलो पटक हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो ।
पत्रिकाले नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय तहमार्फत पीडितलाई हस्तान्तरणको पक्रिया सुरु गरेको उल्लेख गरेको छ ।
अन्नपूर्ण पोष्ट् दैनिकमा सरकारलाई सच्चिन कांग्रेसको चेतावनी शीर्षकमा मुख्य समाचार छापेको छ । समाचार अनुसार कांग्रेसले संवैधानीक व्यवस्था र लोकतान्त्रीक मूल्यमान्यतालाई निस्तेज गर्ने प्रवृत्ति नसच्याए सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेसले संविधानको भावना, सुशासनको प्रत्याभूति र जनताका दैनिक सरोकारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको हो ।