सामुहिक सहकारीले सुरु गर्यो प्रदेशमै पहिलो एटिएम सेवा
२० भदौ । व्यस्त जीवनशैली र बढ्दो प्रविधिको मागसँगै सहकारीका सदस्यका काम छिटो, सरल र सहज तरिकाले काम सम्पन्न गर्नका लागि प्रविधि एउटा सजिलो माध्यम बनेको छ ।
सहकारीले यस्ता प्रविधिलाई आत्मसात् गर्दै आएका छन् । सहकारीले ई–सेवा, वेवसाईट जस्ता माध्यमबाट सेवा सुविधा दिईदै आएको अवस्थामा पछिल्लो समय बैंकले जस्तै एटिएम सेवा पनि दिन थालेका छन् ।
बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित हुँदै आएका सहकारी बैंकले प्रदान गर्दै आएको एटीएम सेवा पनि दिन थालेका छन् । वित्तीयसँगै प्रविधिको विकासमा फड्को मारिरहेका सहकारीले पनि एटीएम सेवाको नयाँ अभ्यास शुरू गरेका छन् ।
५ नम्बर प्रदेशको राजधानी रूपन्देहीको तिलोत्तमास्थित सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राही र बचतकर्ताको सुविधा दिन भन्दै एटीएम सेवा शुरू गरेको छ ।
एटीएम सेवा सञ्चालनमा ल्याएसँगै सहकारीले आफ्नो सेवामा फड्को मार्न थालेका देखिन्छ । सामूहिक विकास सहकारी ५ नम्बर प्रदेशकै पहिलो एटीएम सञ्चालन गर्ने सहकारीमा पर्छ । सहकारीमा ७ हजार ५५ जना सदस्य छन् । सहकारीको कूल पूँजी २ अर्ब १२ करोड, बचत १ अर्ब ५७ करोड र १ अर्ब ७२ करोड रूपैयाँ ऋण लगानी छ ।
एटीएमसँगै सहकारीकले एप समेत बनाएको छ । एप मार्फत खानेपानी, बिजुली, हवाइजहाज टिकट पनि सहकारीबाट तिर्न र लिन सकिने सहकारीका प्रमुख व्यवस्थापक ईश्वरी मरासनीले बताए ।त्यसैगरी सदस्यका हिसावले प्रदेशमै पहिलो जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाले पनि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
त्यस्तै रुपन्देहीको देवदहस्थित कोलीय देवदह सहकारी पनि एटीएम सञ्चालनमा तयारीमा छ । बढ्दो प्रविधिको माग र आवश्यकतालाई बुझेर सहकारीहरु पनि प्रविधिमैत्री बन्दै गएको सहकारी विदह डा. खगराज शर्माले बताए ।एटिएम संगै पछिल्लो समय सहकारी संस्थाहरू बीच वेबसाइट निर्माण गर्ने, मोबाइल, इ–बैंकिङ लगायत प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रदान गर्ने क्रम समेत चलेको छ ।
तर, सहरी क्षेत्रको तुलनामा अझै ग्रामीण क्षेत्रमा सहकारी भने प्रविधिमैत्री बन्न सकेका छैनन् । सहकारी विभागका अनुसार मुलुकभर ३४ हजार ५ सय १२ सहकारी संस्था छन् । ती सहकारीमा करीब ७५ अर्बको शेयर पूँजी छ । रुपन्देहीमा ७ सय ६० भन्दा बढी सहकारी क्रियाशील छन् ।