नागरिकता विधेयक आजै टुंग्याउने तयारी,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ । प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको शनिबारको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो ।
समिति सभापति शशी श्रेष्ठले नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई दिइने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्ष राख्ने संशोधित प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । कांग्रेसका सांसद अमरकुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाउनुभएको छ ।
कांग्रेसले नागरिकता प्राप्तिका लागि लामोसमय राख्दा संवैधानिक एवं सामाजिक जटिलता हुने सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगीकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाउनु भएको छ ।
नेपाली कांग्रेसले सभापतिलाई बुझाएको लिखित असहमति पत्रमा कांग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरु दिलेन्द्र प्रसाद बडू, मिना पाण्डेय, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, डाक्टर लिा संग्रौला र विनोद कुमार चौधरीको नाम भएपनि बडू, पाण्डे, सिंह र संग्रौलाको मात्रै हस्ताक्षर छ । सत्तापक्षका समिति सदस्य नवराज सिलवाल, झपट वहादुर रावल लगायतले प्रस्तावित व्यवस्थाको समर्थन गर्नु भएको छ ।
बैठक केहीबेरका लागि स्थगित गरिएको छ । समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको छ ।