चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गयो
सिन्धुली । चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको छ । दुधौली नगरपालिका वडा नम्बर–२ को हत्पते स्वस्थ्य चौकीका चिकित्सकको लापरवाहीले रतनपुरकी २१ की वर्षीया अनुुषा कुमरको ज्यान गएको हो ।
सुत्केरीको ज्यान गएपछि स्थानीयले स्वस्थ्य चौकीमा तालाबन्दी गरेका छन् । सोमबार विहान ११ बजे प्रसुतीका लागि स्वस्थ्य चौकी पुर्याइएकी कुमरले दिउँसो १ बजे छोरीलाई जन्म दिएकी थिइन् ।
‘रक्तश्राव भएपनि प्रसुतीमा संलग्न चिकित्सकले यहिँ ठिक हुने आस्वासन परिवारलाई दिएपछि हामी ढुक्क परेका थियौं’, स्थानीय सुकदेव अधिकारीले भने ।
रक्तश्राव नरोकिएपछि उपचारमा संलग्न चिकित्सकले रिफर गरेका थिए । उपचारका लागि वर्दिवास लैजाँदै गर्दा सुत्केरीको बाटैमा ज्यान गएको अधिकारीले बताए ।
अहिले स्वस्थ्य चौकी तनावग्रस्त बनेको छ । स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै यस्ता घटना नदोहोरिन र क्षतिपूर्तिको माग गरेका छन् ।