बुटवलमा प्राङ्गारिक खेती प्रवर्द्धन : पहिलो चरणमा ४१ वटा हरितगृह निर्माण
बुटवल– बुटवल उपमहानगरपालिकाले किसानलाई प्राङ्गारिक तरकारी खेतीमा प्रेरित गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।
उपमहानगरले बुटवलका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वाली लगाउने तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराएको छ ।
प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।प्राङ्गारिक तरकारीका लागि स्वस्थ वाली उत्पादन गरी दैनिक उपभोग गर्नुका साथै व्यवसायीकरण गर्ने उद्धेश्यले गत आर्थिक बर्षदेखि कार्यक्रमको सुरुवात गरिएको प्रमुख सुवेदीको भनाइ छ ।
बुटवलको वडा नम्बर ११, १२, १३, १४, १५ तथा १६ र १८ का गरि ४१ जना किसानका लागि हरितगृह निर्माण गरि प्राङगारिक तरकारी खेतीमा प्रोत्साहन गरिएको छ ।
उपमहानगरमा प्रस्ताव पेश गरेका किसानहरुलाई छनौट गरेर पहिलो चरणको कार्यक्रममा समावेश गरिएको थियो । पुस्तौंदेखि चल्दै आएको प्राङ्गारिक खेती प्रणाली नै नेपालका लागि उत्तम विकल्प रहेको विज्ञहरूले बताइरहेका बेला बुटवलका केही वडाहरुबाट यो अभियानको सुरुआत गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
शर्मा वातावरणका क्षेत्रमा लामोसमयदेखि काम गर्दै आएका विषय विज्ञ पनि हुन् । वातावरण संरक्षणका क्षेत्रमा खास दख्खल राख्ने प्रशासकका रुपमा चिनिन्छन् । वातावरणीय क्षेत्रको ह्रास हुने काममा मानवीय क्रियालाप नै पहिलो कारक बन्दै आएकाले यस्लाई नियन्त्रण गर्नेखालका कार्यक्रम बुटवलमा सुरु गरिएको उनको भनाइ छ ।
जस्तोसुकै मौसममा पनि फलाउन सकिने तरकारीको अध्यय्न गरि त्यसैको पकेट क्षेत्र बनाउने र संगसंगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख सुवेदीले बताए । विषादीको बढ्दो र अव्यवस्थित प्रयोगलाई कम गर्दै प्राङ्गारिक खेती प्रवद्र्धन गर्न पनि बुटवलले जोड दिंदै आएको उनको भनाइ छ ।
सिजनल उत्पादन गरी रहेको अवस्थामा अव बेमौषमि तरकारी उत्पादन गरी आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको बुटवल ११ का किसान आत्माराम सापकोटाले बताए । हरितगृह निर्माणका लागि बुटवल उपमहानगरपालिकासंग प्रदेश सरकारले पनि सहकार्य गरेको छ । यो कार्यक्रममा किसानहरुको पनि सामान्य लागत सहभागिता रहेको छ ।
४१ वटा हरित गृह अर्थात् ग्रीन हाउस निर्माणका लागि ५० लाख ११ अजार चार सय ३२ रुपैयाँ बजेट लगानी भएको छ । जस्मा प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सबै किसानहरुको गरेर १३ लाख ७७ जहार आठ सय ५८ रुपैयाँ लगानी भएको छ । यो दुई आवको बजेट कार्यक्रम हो ।
बुटवलका वडा नं. १५ र १६ मा मात्रै १६ वटा हरितगृह निर्माण भएका छन् । यस्तै ११ मा दुई, वडा नं. १२ मा तीन, वडा नं. १३ मा एक, वडा नं. १४ मा तीन र वडा नं १८ मा पाँच वटा हरितगृह निर्माण भएको छ।
के हो प्राङ्गारिक खेती ?
साधारणतया प्राङ्गारिक खेती भन्नाले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी गरिने खेती भन्ने बुझिन्छ । प्राङ्गारिक कृषि भन्नाले कृषि, वातावरण तथा मानव स्वास्थ्यमाा नकारात्मक प्रभाव पार्ने मल, बीउ, विषादी, सामग्री, विधि तथा व्यवहारहरुको प्रयोग नगरीकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले सञ्चालन गरिने कृषि उत्पादन प्रणाली बुझिन्छ ।
यस्तो हुन्छ ग्रीन हाउस
आधुनिक कृषिमा विश्वलाई उदाहरण प्रस्तुत गरेका जापान र इजरायलमा धेरैजसो हाइटेक ग्रीन हाउसमा तरकारी खेती हुने गरेको छ । निश्चित एरियामा प्लास्टिक, फाइबर वा तापक्रम नियन्त्रण गर्न सक्ने वस्तुले चारैतिरबाट ढाकिन्छ । ग्रीन हाउसभित्र आवश्यकताअनुसार तापक्रम प्रसार गर्न सकिन्छ ।
ग्रिन हाउस राख्ने ठाउँमा जमिन करिब ५ इन्च तलसम्म उप्काएर फालिन्छ र राम्रो उब्जाउ हुने क्षेत्रको माटो ल्याएर त्यहाँ पुरिन्छ । त्यसपछि मल र माटोको मिश्रण बनाएर मलिलो र धेरै उब्जाउ हुने माटो तयार गरिन्छ । यहाँँ अन्यत्रभन्दा कम्तीमा ३ गुणा बढी तरकारी फलाउन सक्ने वातावरण तयार हुने बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए ।
ग्रीन हाउसमा धेरेजसो टमाटर खेती हुँदै आएको पाइन्छ । बुटवलमा भने अरु खेती पनि सुरु भएको छ । बन्दा, काउली, गाजर र साग पनि लगाउन सकिने विज्ञहरु बताउँछन् । नेपालको माटोमा सामान्यतया १५ टन प्रतिहेक्टर टमाटर उत्पादन भइरहेको बताइन्छ । ग्रीन हाउसमा खेती गर्दा कम्तीमा तीन गुणा धेरै उत्पादन गर्न सकिने विज्ञहरुको दाबी छ ।