Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

असोज ८ । ‘म आफैं हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ’–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने–‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।’

आफ्नो गृहजिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमिनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मिहिनेत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले संगठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए ।

नेपालको कुल क्षेत्रफलको २८ प्रतिशत भूमि (करिब ४१ लाख २१ हजार हेक्टर) कृषि भूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल २६ लाख ४१ हजारमामात्र खेती गरिएको छ ।

‘हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत् यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौं । हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमिनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौं’–उनले भने–‘सहकारी वा किसान सहकार्यमार्फत् एक क्षेत्रमा एकमात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।’

प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थीर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रिया पूर्णतामा केही ढिलाइ भएपनि अब टुंगिएकाले पार्टीले गति लिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कम्युनिस्टहरु झगडा गर्न र फुट्नमात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतः बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे ।

उनले भने–‘विश्वमै नयाँ ढंगको एकताबद्ध र अनुशासित कम्युनिस्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ । अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानवजातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिंगै समाजलाई उठाउन हामी लागेका छौं ।’

देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासंघका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायीकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे ।

बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासंघका इन्चार्ज वामदेव गौतमले महासंघका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराएका थिए ।

नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट २५१ सदस्यीय एकीकृत महासंघ गठन भएको थियो ।

महासंघको सहइन्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको २०७५ जेठ ३ गते एकता भएको थियो ।

बैठकमा मुलुकको वर्तमान सामाजिक, आर्थिक अवस्थाको विकाससँगै नेपाली कृषि क्रान्तिको कार्यक्रम समृद्ध गर्ने लक्ष्यसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu