पत्रकारले आफ्नो शिष्टता र मर्यादा बिर्से : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असन्तुष्ठी व्यक्त गर्नुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्ठी जनाउनुभएको हो । उहाँले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराउनुभयो । उहाँले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयापुस्ताले विर्सदै गएको बताउनुभयो ।
विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषा प्रति उहाँले गम्भीर असन्तुष्ठी जाहेर गर्नुभयो । उहाँले भन्नुभयो “सभ्यताका पर्खालहरु बागमतिमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपाई भन्दैन । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो ।
किन भने अग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाहे लाग्यो । किन भने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठुलालाई तपाई भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ । ”
प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएको भन्दै उहाँले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रबर्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गते सम्म चल्ने छ ।