मन्त्रालयको कामै प्रभावित पारी मन्त्रीको विदेश भ्रमण मोह
काठमाडौं । मितव्ययिता, सुशासन, स्वच्छताको अभियानमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री विदेश भ्रमणमा रमाउन थालेका छन् ।
धेरै मन्त्री एकैपटक विदेश जाँदा मन्त्रालयका महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित भइरहेका छन् ।
यतिबेला पाँच मन्त्री, दुई मुख्यमन्त्रीसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू विदेश भ्रमणमा रहेका छन् ।
मन्त्रीकै विदेश भ्रमणले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्ने अभियानमा जुटेका प्रधानमन्त्री ओलीको सो अभियानसमेत प्रभावित हुन सक्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेको भए पनि विदेश भ्रमणलगायतका कारणले लक्ष्यसम्म पुग्न समस्या उत्पन्न हुने गरेको अधिकारीको भनाइ छ ।आजको राजधानीमा समाचार छ ।
एकैपटक बहुसंख्यक मन्त्रीहरू मन्त्रालयको काम नगरी विदेश भ्रमणमा निस्केपछि मन्त्रालयको काम सुस्त बनेका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल यतिबेला चीन भ्रमणमा छन् । चीनको विभिन्न सहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार पोखरेल त्यसतर्फ लागेका हुन् ।