कम्युनिस्ट सरकारको आयु तीन वर्ष मात्रै : गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीको सरकारको आयु तीन वर्षसम्म मात्रै भएको दाबी गरेका छन्।
सिन्धुपाल्चोकको मेलम्चीमा कांग्रेसमा प्रवेश गर्नेहरुका लागि गरिएको सभामा बोल्दै थापाले कम्युनिस्ट सरकारले कांग्रेसले भरिदिएको भकारी बाँडिरहेको आरोप लगाए। उनले भने, ‘बाड्न सजिलो छ। भकारी भर्न गाह्रो छ।’
भकारीको लागि स्रोत नखोजी राज्य ढुकुटीको पैसा बाड्दै गए नेपाल भेनेजुयलाको अवस्थामा पुग्ने उदाहरण दिए।
बृद्ध भत्ता बाड्ने चुनावी नारा राजनीतिक ठगी भएको बताए।
वर्तमान सरकार आएपछि डेढ सय उद्योग बन्द भएको दाबी गरे। उनले वर्तमान सरकारका कारण लगानी मैत्री वातावरण नबनेको आरोप लगाए।
नाजुक अर्थतन्त्र रहेको उल्लेख गर्दै थापाले यस्तै परिस्थिति बढ्दै गए कर्मचारीले तलब पनि नपाउने बताए। राज्य ढुकुटीको दोहन भएको आरोप लगाउँदै उनले भने, ‘पञ्चायतले ३० वर्षमा सकाएको ढुकुटी बराबर दुई वर्षमा यो सरकारले सकायो।’
वर्षमा साढे चार लाखले रोजगारी सिर्जना हुनुपर्ने समयमा मुस्किलले पचास हजारले श्रम बजारमा काम पाएको उनले तथ्यांक प्रस्तुत गरे।
सभामुख र उपसभामुख फरक लिंग र पार्टीको हुनुपर्ने कानुनी प्रावधानलाई नेकपाले कुल्चिएको उनले असन्तुष्टि जनाए।