नेवार समुदायले किजा पूजा मनाउँदै
काठमाडौं । नेवार समुदायले आज किजा पूजा अर्थात भाईटिका मनाउँदैछन् । विभिन्न मौलिक चाडवाड, सभ्यता तथा संस्कारको धनी नेवाः समुदायले मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा अर्थात भाईटिका मनाउँने गर्दछन् । तीन दिन सम्म लगातार रुपमा तिहार मनाउँदै आएको कारणले नै यो पर्वलाई स्वन्हु नखः समेत भन्ने गरिन्छ ।
नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाड पर्व हो । कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब किताब सम्पन्न गर्ने तथा आफ्नो शरीरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्न आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने चलन छ । यस दिनमा म्ह पूजाकै दिनझैं मण्डप लेख्ने गरिन्छ । मण्डपमा बिमिरो लगायत विभिन्न प्रकारका फलफुल समेत राख्ने गरिन्छ ।
नेवाः समुदायमा अक्षता, अबिर, दहि, चिउरा र पानी राखेको रातो टिका लगाउने चलन छ । किजा पूजामा म्ह पुजाकै दिनझैं पुजाआजा गर्दै सगुन दिने चलन रहेको छ । पञ्चतत्वको सगुन दिइ पुजा गर्ने र आफ्नो दाजुभाइको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देवत्व र दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समुदायमा तिहार प्रसिद्ध रहेको विश्लेषक स्नेह सायमी बताउनुहुन्छ ।
साधारणतयाः यमपञ्चकको पाँचौ दिनमा पूजा गरिने भए पनि यस वर्ष तिथीमा देखिएको घटबढीको कारणले किजा पूजा एकदिन पछि सरेको सायमीले जानकारी दिनुभयो ।यसअघि मध्यरातमा तिथिको परिवर्तन हुने गरेको भए पनि यो वर्ष भने दिउँसो तिथि फेरिएकोले किजापूजा एकदिन ढिलो भएको हो ।किजापूजाका लागि सरकारले आज देशैभर सार्वजनिक विदा दिएको छ