लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम
काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक फरक विषयमा समाचार प्रकाशन गरेका छन् । नागरिक दैनिकले लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम शीर्षकमा प्रमुख समाचार बनाएको छ भने हटाइने मन्त्रीहरुको लगभग टुंगो शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकमा ‘लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम’ शीर्षकमा प्रमुख समाचार छ । समाचारमा लेखिए अनुसार नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक भएको र भारतीयले अतिक्रमण गरी बस्ती नै बसाल्न थालेपछि फराकिलो सुस्ता साँघुरिएको छ । हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न नदिएकोले लालपुर्जा बाकसमा थन्किएको समाचारमा लेखिएको छ ।
नागरिकका अनुसार नारायणी नदीपारी रहेको सूस्ता गाउँपालिका -५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर हो तर अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्दै आएका छन् । १४ हजार हेक्टरमा भारतीयले अतिक्रमण गरी बस्ती बसालेका छन् । तर १९ हजार हेक्टर जमिन विवादित भन्दै कुनै पक्षले उपभोग नगर्ने सर्तमा त्यसै छाडिएको छ र जुन जमिन अहिले झाडिमा परिणत भएको छ ।