उपनिर्वाचनः सत्तापक्ष र प्रतिपक्षकाे प्रतिष्ठाकाे लडाइँ
काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन दुई पक्षकाे प्रतिष्ठाकाे लडाइँ हुने भएकाे छ । अहिले हुन लागेकाे उपनिर्वाचनकाे अधिकांश स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिष्ठाको लडाइँ बनेको हाे ।
उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय शुरु हुने भएकाले दलहरु अन्तिम प्रचारमा जुटेका छन् ।
देशभरका विभिन्न तहका ५२ स्थानमा शनिबार मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ । त्यस्तै धरान उपमहानगरपालिकाको मेयर पदको चुनाव पनि चासोका साथ हेरिएको छ । शनिबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ।
यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ । त्यस्तै यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिबार निर्वाचन हुँदैछ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।