मतपत्र र मतपेटिका गाउँगाउँ पठाउन सुरु
खुवासभा- मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मतपत्र र पेटिका पठाउन सुरु भएको छ।
भौगोलिक रुपमा विकट गाउँमा आवश्यक सामग्रीहरु पठाउन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिए ।
पहिलो चरणमा भौगोलिक रुपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँचपोखरी आधारभूत विद्यालय निभारे र सेतीकन्या निम्न माध्यमिक विद्यालय कारमारङमा मंगलबार मतपत्र र मतपेटिकासहित कर्मचारी पठाइएको निर्वाचन कार्यालय प्रमुख चोलाराजले जानकारी दिए ।
बुधबारसम्ममा दुई वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी खटाइने छ । ‘हामीले १० वटा मतदान स्थल र १३ वटै मतदान केन्द्रमा पठाउने निर्वाचन सामग्री तयारी अवस्थामा राखेका छौं,’ दंगालले भने, ‘बाँकी रहेका अन्य स्थानमा बुधबार नै पठाउन तयारी पूरा भएको छ ।
उपनिर्वाचनका लागि ७४ जना कर्मचारी खटाइने छ ।’ संखुवासभामा १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
प्रजिअ दुलालका अनुसार एक मतदान स्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८३० मतदाता छन्। मकालुमा गाउँपालिका अध्यक्ष र खाँदबारी–३ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
भौगोलिक रुपमा विकट स्थान भएका केही स्थानमा मंगलबार नै सुरक्षाकर्मी पुगिसकेको र अन्य स्थानमा बुधबारसम्म पुगिसक्ने छन् ।
उपनिर्वाचनमा नेपाली सेनाले बाहिरी घेरामा गस्ती गर्न बताइएको छ। उपनिर्वाचनमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिने छन् । दुई स्थानीय तहमा १० वटा मतदान स्थल र १३ वटा मतदान केन्द्र तोकिएको छ।
३०० सुरक्षाकर्मी परिचालन उपनिर्वाचनका लागि ३०० जनाभन्दा सुरक्षाकर्मी परिचालन हुने प्रजिअ दुलालले जानकारी दिए। एक मतदान केन्द्रमा १५ जना नेपाल प्रहरी र १० जना सशस्त्र प्रहरी परिचालन गरिने छ ।