कुटपिटबाट युवकको मृत्यु
कञ्चनपुर । सामान्य मोटरसाइकल दुर्घटनाको निहुँमा सामुहिक कुटपिटबाट कञ्चनपुरमा एक युवाको ज्यान गएको छ ।मोटरसाइकल ओभरटेक गरेको निहुँमा केही युवाहरुले बिहीबार भिमदत्तनगरपालीका १८ गोबरैया नजिकै युवकलाई कुटपिट गरी हत्या गरेका हुन् ।
घटनामा महाकाली नगरपालिका कञ्चनपुरका २२ वर्षीय दीपक पन्तको ज्यान गएको हो । नगरपालिकाबाट आफ्ना बुबालाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजारतर्फ आउँदै गर्दा मोटरसाइकल ओभरटेक गरेको भन्दै चार पाँच जनाको समुहले चक्कु तथा हेलमेट प्रहार गरी निर्घात कुटपिट गर्दा घाइते भएका युवालाई महाकाली अस्पतालबाट थप उपचारका लागि भारतको खटीमा पुर्याइएको थियो । अस्पतालमै उनको मृत्यु भएको प्रत्यक्षदर्शी मृतकका साथी जगदीश जोशीले जानकारी दिए ।
मृतकका आफन्त कृष्णराज पन्तले प्रहरी कार्यालयको नजिकै यसरी हत्या हुँदा समयमा प्रहरी नपुगेर २४ घण्टापछि मात्रै प्रहरीले मुचुल्का बनाएकाले कानुनको उपहास भएको भन्दै प्रहरीले अपराधी पत्ता लगाइ कडा भन्दा कडा सजाय दिनुपर्ने बताए ।कुटपिट गर्ने चारजना सहित स्कुटी र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बताइए पनि प्रहरीले आधिकारीक रुपमा जानकारी दिएको छैन ।