चितवनमा १० महिनामा ८० एचआइभी संक्रमित भेटिए
१५ मंसिर, चितवन । चितवनमा वितेको १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् ।भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन् ।
अस्पताल र समुदायस्तरमा १३ हजार ६२५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका छन् ।एचआईभी र टिबी लागेका २१ जना छन् । सन् २०१९ मा १ सय १६ जनाले एआरभी औषधि लिन सुरु गरेका छन् ।
सन् २०१९ मा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश रक्सी सेवन, लिभर र मुटु रोगी, टिबी भएका संक्रमित भएकाहरु रहेको एआरटी सेन्टरका संयोजक तथा एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ)का क्षेत्रीय संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए ।
एचआईभी संक्रिमित भइसकेपछि शरीरमा भाइरस फैलिन नदिन नियमित ‘एआरभी’ औषधि दिने गरिन्छ । स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क पाइन्छ । एचआईभी संक्रमितहरुको उपचार तथा अन्य आकस्मिक काम गर्दा एचआइभीको खतरा भएका १५ जनालाई पिईपी सेवा प्रदान गरिएको छ ।
एचआईभी सर्न नदिन ‘पीईपी’ उपचार पद्धति भरतपुर अस्पतालमा उपलब्ध छ । बलात्कार वा अन्य असुरक्षित यौनसम्पर्क अथवा एचआइभी संक्रमितको उपचार गर्दा सुईका कारणले हुन सक्ने जोखिमलाई कम गराउन ७२ घण्टाभित्र पीइपी उपचार गरेमा संक्रमणबाट जोखिन सकिन्छ ।
यो औषधि २८ दिनसम्म लिनुपर्छ । वैदेशिक रोजगारीबाट फर्किएका, यौनकर्मी महिला, समलिंगि, लागुऔषध प्रयोगकर्ता संक्रमणको उच्च जोखिममा छन् । असुरक्षित यौन सम्पर्क, रगत, संक्रमित आमाबाट जन्मेका बच्चामा एचआईभी सर्ने खतरा बढी हुन्छ ।
सन् २००७ देखि २०१९ सम्म १ हजार ७ सय ९३ जना एचआइभी संक्रमितको पत्ता लागेको सेन्टरको अभिलेखमा उल्लेख छ ।
सन् २०१८ मा १ हजार १ सय ११, सन् २०१७ मा ९३ जनामा संक्रमण देखिएको थियो । नेपालमा २९ हजार ८ सय ७८ जना संक्रमित रहेको अनुमान छ ।
अहिलेसम्म १९ हजार ७ सय २ जना एचआइभी संक्रमितको पहिचान भएको छ । सन् २०१८ मा नेपालमा ८ सय ७० जना नयाँ संक्रमित फेला परेका थिए । सो वर्ष ९१० जनाको एचआइभी एड्सका कारणले मृत्यु भएको थियो ।
विश्व एड्स दिवसमा विविध कार्यक्रम
३२ औँ विश्व एड्स दिवसको अवसर पारेर चितवनका विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । एआरटी सेन्टर भरतपुरले भरतपुर कारागारभित्रका कैदीवन्दी र भरतपुर-७ क्यान्सर अस्पताल अगाडि एचआइभी परीक्षण कार्यक्रम राखिएको हो ।
यस्तै, भरतपुर अस्पताल, मालपोत चोक, विशाल चोक, गणेशस्थानसम्म सचेतनामूलक अटो र्याली निकालिएको छ ।
कण्डम बाड्दै एचआईभी एड्सविरुद्धका जनचेतना पम्पेलेटहरु वितरण हुनेछन् । कार्यक्रममा एचएफ नेपाल, स्वास्थ्य कार्यालय चितवन, भरतपुर अस्पताल, भरतपुर महानगर स्वास्थ्य शाखाका कर्मचारीहरु लगायत सहभागी छन् ।