सार्थक बन्दै सुरुङमार्गको सपना
रुपन्देही १७ मङ्सिर । प्रदेश ५को पहिलो सुरुङ मार्गको रुपमा सिद्धबाबामा निर्माण कार्य शुरु भएको छ ।हाल नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री हुदा तय भएको अवधारणाका आधारमा सिद्धार्थ राजमार्गको सबैभन्दा कठिन र सयौं नागरिकको ज्यान लिएको सिद्धबाबामा सुरुङमार्ग बनाउने विषय स्थापित भएको हो । “सपना नदेखि त केही हुँदैन भन्ने मनमा थियो, समयक्रममा मलाई अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो, बजेट पनि ल्याउनुपर्ने थियो । मैले सिद्धबाबामा सुरुङ निर्माण गर्ने विषयलाई बजेटमा समावेश गरे”, महासचिव पौडेलले सुरुङ मार्गको अवधारणा प्रष्टाउदै रुपन्देहीको एक कार्यक्रममा भन्नु भयो ।
आर्थिक वर्ष २०७३/७४ को वार्षिक बजेटको ७३ नम्बर बुँदामा “सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार पार्न बजेट विनियोजन गरेको छु”, भन्ने पदावली समेटियो । “त्यो शब्द राख्दा जति खुशी लागेको थियो, त्यो भन्दा बढी नयाँ बानेश्वरस्थित संसद् भवनमा त्यो शब्द पढ्दा मलाई बढी खुशी लाग्यो”, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेकपा महासचिव पौडेलले विगत संझदै भन्नु भयो । बुटवल र पाल्पावासीका लागि सिद्धबाबा खण्ड एउटा नराम्रो यथार्थ जस्तै बनेको थियो ।
जनताप्रति उत्तरदायी सरकारले सो सडक खण्डमा स्थानीयवासीले भोगेको समस्या समाधानका लागि सरकारले एउटा उपाय निकालेको महासचिव पौडेल स्मरण गर्नु हुन्छ र्छन । स्थानीयवासीको लामो समयदेखिको मागलाई सरकारले सम्बोधन गरेको छ । सो सडकखण्ड भएर दैनिकयात्रा गर्ने यात्रुलाई सिद्धबाबाबाट कहिलेमुक्ति पाइएला भन्ने दशकौ देखिको सपना पूरा हुने भएको छ । अर्थ मन्त्रालयले यही मङ्सिर २ गते सो खण्डमा सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय रुपमा खर्च गर्ने गरी रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरिदिएको छ ।थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्यास भइसकेको छ ।
सो आयोजनाको निर्माणकार्य शुरु हुन लागेकै बखत अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको हो ।अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मङ्सिर १ गते अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिएका हुन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्यधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरेको थियो ।सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन ।
सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभइ हिउँदमासमेत खस्ने सुक्खा र ढुङ्गे पहिरोका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् ।