दुई नेताले पार्टी चलाउँदा निरंकुशताको झल्को
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई नेताको मात्र सल्लाहमा पार्टी चलाउँदा निरंकुशताको झल्को आउने बताउनुभएको छ ।
राजधानीमा आयोजित मोतीदेवी स्मृति केन्द्रको नवौं साधारणसभामा नेता खनालले पार्टी स्थायी कमिटी बैठक लामो समयदेखि नबसेको भन्दै असन्तुष्टि जनाउनुभयो । ९ करोड सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीमा वर्षको चार पटक केन्द्रीय समितिको बैठक बस्छ तर नेकपामा यो किन सम्भव भएन, उहाँको प्रश्न थियो ।
नेकपा नेता एवं मोतीदेवी स्मृति केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतीदेवीले तत्कालीन कठोर राणा शासनका बेला पनि घरबाहिर निस्केर कम्युनिष्ट पार्टीको आन्दोलनमा भाग लिई साहसिक कार्य गरेको चर्चा गर्नुभयो । नेता शाक्यले अनेक चुनौतीको सामाना गरी राजनीतिक परिवर्तन गरिए पनि आज पनि नेतृत्व वर्गमा सामन्ती सोच रहेको भन्दै संस्कार र आचरणमा परिवर्तन ल्याउन बाँकी रहेको तर्क गर्नुभयो
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य मोतीदेवीको इतिहास र योगदानबारे अध्ययन गर्न मोतीदेवी स्मृति केन्द्रको स्थापना गरिएको हो ।